धनगढीका विद्यालयमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने

  शुक्रबार ०५, माघ २०८० २०:४०

धनगढी । धनगढी उपमहानगरपालिकामा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिका सँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो।

उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले शुक्रवार समझदारी पत्रमा हस्ताक्षर गरे। दुबै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको हो। 

नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत छनौटमा परेका धनगढी–१२ मा रहेको श्री सिद्धनाथ माध्यमिक विद्यालय, जुगेडा र धनगढी–१८ मा रहेको श्री चन्द्रोदय माध्यमिक विद्यालय, फुलबारीमा उक्त कार्यक्रम लागु हुने भएको छ। 
 
नगरप्रमुख गोपाल हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताए। गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको बताए। 

नेपाली क्रिकेटको विकासका लागि स्थानीय तहसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम मोडेलका रुपमा स्थापित भएको छ। भविष्यमा नेपालबाट अन्तर्राष्ट्रिय खेल्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँन चाहान्छौं,’ शाहीले भने।

clock शुक्रबार ०५, माघ २०८० २०:४०

प्रतिक्रिया