गोदावरीका मेयरले शिलालेखमै नाम लेख्नका लागि भवन फेरी उद्घाटन गर्दै, एमालेको विरोध

  बुधबार ०३, माघ २०८० २०:२५

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन फेरी उद्घाटन गरेर मेयर वीरेन्द्र भट्टले अपनत्व लिन खोजेपछि विवाद भएको छ । एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउँदकै पालामा प्रशासकीय भवनको उद्घाटन गरिएको भए पनि कांग्रेसबाट निर्वाचित अहिलेका मेयर भट्टले फेरी बिहीबार उद्घाटन गर्ने तयारी गरेपछि विवाद सिर्जना भएको हो ।

मेयर भट्टले यसअघि उद्घाटन भइसकेको भवनको उद्घाटन गरेर राजनीति गर्न खोजेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । एमाले गोदावरी नगर कमिटी र गोदावरीकी उपमेयर शारदादेवी रोकायासहितले बुधवार अत्तरियामा पत्रकार सम्मेलन गर्दै पुनः भवनको उद्घाटन गर्ने कार्य रोक्नुपर्ने माग गरेका छन् ।

मेयरले जबरजस्ती भवन उद्घाटन गरेमा हुने क्षतिको जिम्मेवारी लिन समेत चेतावनी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै एमाले नेताहरुले उक्त कार्यको विरोध गर्ने बताएका छन् । पुनः उद्घाटन गर्ने कार्य तत्काल रोकेर वार्तामा आउने समेत माग गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य सन्तोष शर्माले उद्घाटन भइसकेको भवन पुनः उद्घाटन गर्नु गैर राजनीतिक चरित्र हुने बताइन् । उनले यसको नजिर पनि गलत बस्ने र दूरगामी प्रभाव पर्ने भएकाले सचेत बन्न आग्रह गरेकी छन् ।

‘एउटा सरकारको पालामा उद्घाटन हुने अर्को सरकार आएपछि भत्काउँदै जाने हो भने भोलीका दिनमा के–के हुन्छ । यसको पनि हिसाबकिताब राख्नु पर्ला,’ शर्माले भनिन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले नगरपालिकाको भवन पुनः उद्घाटन गर्ने कार्य नाटक मात्रै भएको दाबी गरे ।

उनले विकासका अन्य धेरै कार्य गर्नुको साटो अहिलेका मेयरले पुनः उद्घाटनको नाटक मन्चन गरेको बताएका छन् । भवन उद्घाटनको कार्य तत्काल रोकेर एमाले सँग वार्तामा बस्न समेत उनको आग्रह थियो ।

नगरपालिकाका निवर्तमान मेयर हरिसिंह साउँदले आफ्नो पालामा एसियाली विकास बैङ्कका प्रतिनिधिको सल्लाहबमोजिम नै नगरपालिकाको प्रशासकीय भवन उद्घाटन भइसकेको बताउँदै अहिलेका मेयर राजनीतिक संस्कार भन्दा बाहिर गएको आरोप लगाए ।

साउँदले एउटा जनप्रतिनिधिको पालामा विधिवत् रूपमा उद्घाटन भइसकेको भवन पुनः उद्घाटन गर्छु भन्नू लोकतान्त्रिक नभएको तर्क गरे ।

नगरपालिकाकी उपप्रमुख शारदादेवी रोकायाले नगरपालिकाको भवन पुनः उद्घाटन नगर्न मेयरलाई पटक पटक ध्यानाकर्षण गराए पनि बेवास्ता गरेको बताइन् ।

मेयरले बिहीबार जबरजस्ती भवनको पुनः उद्घाटन गरे आफूहरुले बहिष्कार गर्ने समेत बताएकी छन् । एमाले गोदावरी नगर कमिटीका अध्यक्ष सन्तोष सिंहले पुनः भवनको उद्घाटन गर्ने कार्यले मुडभेडको अवस्था निम्त्याएको बताएका छन् ।

उनले जबरजस्ती भवनको उद्घाटन गरिएपछि आउने परिणामको जिम्मेवारी स्वयं मेयरले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

clock बुधबार ०३, माघ २०८० २०:२५

प्रतिक्रिया