नेपाली जनता पछाडि फर्किन चाहँदैनन् : राष्ट्रपति पौडेल

  सोमबार ०१, माघ २०८० १२:२४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले पछाडि फर्किन नचाहेको बताएका छन्। सोमबार राष्ट्रपति निवासमा आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले आफूले नेपाली जनताको चाहना र भावना बुझेको बताए।

‘पछाडि फर्किन कोही जनता चाहँदैनन्। मैले नेपाली जनताको चाहना पनि बुझेको छु। नेपाली जनताको चाहना र भावना मैले पनि बुझेको छु। विदेशबाट आएकाको मात्रै होइन। देशभित्रका जनताको पनि अगाडि बढ्ने चाहना छ’, उनले भने।

राष्ट्रपति पौडेलले अगाडि बढ्नुपर्ने र संविधानको कार्यान्वयन गर्नुपर्ने बताए। ‘देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो। आज हामीले यही अठोट गर्नुपर्छ। हामी समावेशी लोकतन्त्र साकार पारेरै छाड्छौँ’, उनले भने।

राष्ट्रपतिको रुपमा आफूले भेटेका पाहुनाबाट नेपालको संविधानको प्रशंसा सुन्ने गरेको उनको भनाइ थियो। तर संविधानलाई कार्यान्वनयमा ल्याउने कुराको आवश्यकता रहेको उनले बताए। 

पौडेलले भने, ‘यो संविधानले पिछडिएका पीडित जनतालाई उपेक्षित वर्गलाई जे अधिकार दिएको छ। त्यो सार्थक हुनुपर्‍यो। व्यवहारमा उतार्नका लागि कानुनहरू बनाउनुपर्ने छ।’

जनताले संविधानबाट जे पाइन्छ भन्ने आशा गरेका छन्, आशालाई निराशामा परिणत गर्न नहुने राष्ट्रपति पौडेलको भनाइ छ। उनले देशमा उठेका निराशाका कुरा पनि संविधानको कार्यान्वनयको कमीले भएको बताए।

clock सोमबार ०१, माघ २०८० १२:२४

प्रतिक्रिया