नागरिक उन्मुक्तिको नेतृत्वमा रेशमलाल चौधरीका पति-पत्नीको दाबी, को बन्लान् अध्यक्ष ?

  शुक्रबार २७, पुष २०८० १४:३२

धनगढी । नागरिक उन्मुक्ति पार्टीको नयाँ नेतृत्व शुक्रबार चयन हुँदैछ। बिहीबारदेखि कैलालीको टीकापुरमा सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने सो पार्टीले जनाएको छ।

उद्घाटन सत्रपछि गए राति नै बन्दसत्र पनि सम्पन्न गरिएको छ। शुक्रबार बिहान ९ बजे मनोनयन दर्ताको समय तोकिएको छ। नागरिक उन्मुक्तिको अध्यक्षमा  रेशमलाल चौधरी दम्पति आकांक्षी छन्। 

पार्टीका संरक्षक रहेका रेशम चौधरी पार्टी अध्यक्ष बन्ने गरी अघि बढेका छन्। टीकापुर नरसंहारमा दोषी ठहर भएर चौधरी जेल रहेका बेला पत्नी रञ्जिता अध्यक्षतामा उन्मुक्ति पार्टी खोलिएको थियो। 

राष्ट्रपतिबाट बाँकी सजाय मिनाह पाएर जेलमुक्त भएका चौधरी अहिले खुला राजनीतिमा सक्रिय छन्।  उनले महाधिवेशन सम्मका लागि पार्टीको कार्यकारी अधिकार लिएर देश दौडाहा नै गरेका थिए।  

चौधरीले पाएको सजाय माफीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ। हालकी अध्यक्ष चौधरी पत्नी रञ्जिता पनि अध्यक्षमै दोहोरिन चाहन्छिन्।  

नयाँ नेतृत्व चयनका लागि छलफल जारी रहेको सो पार्टीले जनाएको । नेतृत्व चयनका लागि चुनाव हुने सम्भावना कम रहेको नेताहरुको भनाइ छ। 

‘अध्यक्षमा दुई जना देखिनु भएको छ। नेतृत्व चयनका लागि छलफल चलिरहेको छ,’ नेतृ इन्दिरा गिरीले भनिन्, ‘सर्वसहमतिमा नेतृत्व टुंगिन्छ।’ 

clock शुक्रबार २७, पुष २०८० १४:३२

प्रतिक्रिया