टेलिकम प्रकरण : एउटै ट्रकमा भेटियो करिब १५ टन तामाजन्य तार

  बिहिबार २६, पुष २०८० २१:०२

धनगढी । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुदूरपश्चिमले कैलालीस्थित दुरसंचार कार्यालय गेटाबाट तामाजन्य (स्क्रप कपर तार) कवाडी सामानको लिलाम बिक्रीका क्रममा कार्यालयले निकासी गराए बराबरको परिमाण झण्डै एउटै ट्रकमा भेटिएको छ । अर्को ट्रक भने तौल गर्नै बाँकी छ ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियामा दुरसञ्चार कार्यालय गेटाबाट निकासी भएको सामानको परिमाण १५ हजार ६७९ किलो (१५.६७९ टन) रहेको अभिलेख छ । तर इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाको नियन्त्रणमा रहेको रा १ ख ३२०६ नम्बरको ट्रकमा रहेको सामान तौल गर्दा १४ हजार ९८२ किलो (१४.९८२ टन) भेटिएको हो । जब कि प्रहरी नियन्त्रणमा रहेको अर्को ट्रकको तौल गर्नै बाँकी छ ।

जिल्ला प्रशासन कार्यालयले प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । छानविनका क्रममा बिहीबार इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको ट्रकको सामान तौल गरिएको हो ।

तौल गर्न बाँकी रहेको ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतबार नै सशस्त्र प्रहरीको टोलीले कैलालीकै हसुलियाबाट नियन्त्रणमा लिएको थियो । हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त लोड ट्रकको तौल २४ हजार किलो (२४ टन) रहेको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले बताएका छन् । जस अनुसार त्यस ट्रकमा रहेको सामानको तौल १२ टन आसपास हुने अनुमान छ ।

अनियमितताको आशंकामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको निर्देशनपछि टेलिकमबाट लोड भएर नेपालगञ्ज लैजान लागेका दुई वटा ट्रकमध्ये एउटा नेपाली प्रहरी र अर्को सशस्त्र प्रहरीको टोलीले आइतबार बाटोबाटै नियन्त्रणमा लिएको थियो ।

टेलिकमका कार्यालयका अनुसार प्रवल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाडौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसँग मंसिर २४ गते ९६ टन कवाडी खरिदको सम्झौता गरेको छ । टेलिकमको सम्पर्कमा कम्पनीको तर्फबाट श्याम कुमार जैशवालले कारोबार हेर्ने गरेका छन् ।

उक्त कम्पनीले टेलिकसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैया ८९ पैसामा खरिद सम्झौता गरेको छ । ठेक्का सम्झौता अनुसार टेलिकमले लिलाम गरेको उक्त तामाजन्य सामग्रीको बिक्री मूल्य प्रति टन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैया पर्छ ।

ठेकेदार कम्पनीले निर्देशनालयका अनुसार कम्पनीले हालसम्म ६७ हजार २४९ किलो सामान उठाइसकेको अभिलेख छ । तर १५ हजार ६७९ किलो (१५.६७८ टन) निकासी भएको टेलिकमको अभिलेखमा झण्डै दोब्बर परिमाणमा सामान निकासी भएको भेटिने अवस्था भएपछि यसअघिका निकासी परिमाणको सत्यतामा पनि प्रश्न उठेको छ ।

यस कार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनीबीच मिलेमतो भएको आशंका रहेको सुरक्षा स्रोतका एक अधिकृतले बताए । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका प्रमुख किशोर भट्टले अर्को ट्रकको तौल गरेपछि मात्र यकिन हुने बताए । यता प्रमुख जिल्ला अधिकारी मिश्रले छानवीनबाट दोषी देखिएको अवस्थामा कोही पनि उम्कन नपाउने बताएका छन् ।

सम्बन्धित शिर्सक
clock बिहिबार २६, पुष २०८० २१:०२

प्रतिक्रिया