नेपाल टेलिकम सुदूरपश्चिमको कवाड सम्बन्धी ठेक्कामा लफडा

  आइतबार २२, पुष २०८० २०:५५

अत्तरिया । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयले कवाड विक्रिका लागी लगाएको ठेक्कामा लफडा भएको छ । कार्यालयले ८ करोडमा तामाजन्य वस्तहरुका लागि लगाएको ठेक्कामा कार्यालयकै मिलेमतो रहेको भन्दै स्थानियले आरोप लगाएका छन । 

कार्यालयको मिलेमतो भएको भन्दै ठेक्का प्रकृयामार्फत नै विक्रिवितरण गरिएका तामाजन्य कवाड सामग्री बोकेका ट्रकहरु आईतबार साझ स्थानिय युवाहरुले नियन्त्रणमा लिएका छन । युवाहरुले टेलिकम कार्यालयको मिलेमतोमा सम्झौता विपरित उक्त कवाड सामग्री ठेकेदारले चोरीपैठारी गरीरहेको आरोप लगाएका छन ।

यता नेपाल टेलिकम सुदूरपश्चिम प्रदेश प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक किशोर भट्टले ठेकेदार कम्पनिले तौलकै आधारमा कवाड उठाएको बताएका छन । उनले आफुहरुले तौल बराबरको बिल लिएको र सोही अनुसार ठेकेदार कम्पनिले कवाड उठाएको बताए । उनले तौल नगरेको शंका लागेमा प्रहरीको रहोबरमा पुनः तौल गरिने बताए ।

टेलिकमको सुदूरपश्चिम प्रदेश भरीकै कवाड उठाउने जिम्मा काठमाण्डौको बिएलएस कन्स्ट्रक्सनलाई दिईएको छ । कार्यालयले ई–विडिङ्ग मार्फत ठेक्का लगाउदा उक्त कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको बताएको छ ।

उक्त कम्पनिलाई प्रदेशभरीमै अनुमानित ९६ टन कवाड उठाउनका लागि प्रतिकिलो भ्याट बाहेक ७५३ रुपैयामा ठेक्का सम्झौता गरेको निर्देशक भट्टले बताए । उनले ठेकेदार कम्पनिसँग तौल अनुसारको कवाड वाफतको रकम लिने सम्झौता भएको बताए । उनले प्रदेशभरीकै लागि अनुमानित ९६ टनको ठेक्का भएकाले सो बराबरको रकम ठेकेदार कम्पनिबाट टेलिकमले लिईसकेको बताए ।

उनका अनुसार केही महिनाअघि प्रदेशका ९ वटै कार्यालयबाट तामाजन्य कवाड बिक्रिका लागि बीएनएस कन्सट्रक्सनसँग ८ करोड बढिमा ठेक्का सम्झौता गरिएको छ । उक्त सम्झौता अनुसार कवडा सामग्री बढी भए अनिवार्य सो बराबरको रकम बुझाउनुपर्ने र कम भए टेलिकमले फिर्ता गर्ने सर्त रहेको उनले बताए । 

उनका अनुसार बढि सामान भए सोअनुसारको रकम नबुझाएमा धरौटी जफत गर्ने समेत सम्झौता रहेको छ । तर नेपाल टेलिकमको मिलेमतोमा कवाडको ठेक्का पारेर कर्मचारीले ठेकेदारबाट आर्थिक लाभ लिएको स्थानीयले आरोप लगाएका छन् ।

clock आइतबार २२, पुष २०८० २०:५५

प्रतिक्रिया