टीकापुर अस्पतालमा बिस वर्षपछि फार्मेसी व्यवस्थित

  बिहिबार २६, पुष २०८० ०७:३०

टीकापुर। अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले जस्ताले छाएको टहरा थियो । फार्मेसीमा अहिले पाँच वटा कक्ष तयार भएका छन् । यहाँ आकस्मिक र वार्डमा भर्ना भएका बिरामीलाई एउटा, स्वास्थ्य बिमा गरेका बिरामीलाई दुई वटा, निःशुल्क एउटा र सशुल्क बिक्री काउन्टर राखिएका छन् । 

गत वर्ष अस्पतालमा डी फर्मा आएपछि सुरु भएको फार्मेसी व्यवस्थापन कार्य पूरा भएको छ भने औषधीको मौज्दात पनि बढेको छ । “फार्मेसीमा दुई हजारभन्दा बढी औषधी रहेका छन्,” डी फर्माका जनक शाहीले भने, “अस्पतालमा पर्याप्त औषधी रहेको र त्योभन्दाबाहेकका औषधी चाहिएमा पनि अस्पतालले खोजेर ल्याइदिने व्यवस्था छ ।”

अस्पतालले बोलपत्रमार्फत किनेको औषधीमा २० प्रतिशत मात्रै नाफा जोडेकाले बिरामीले अधिकतम खुद्रा मूल्यभन्दा कममा औषधी पाउन थालेका छन् । औषधीलाई ३० डिग्रीभन्दा कम राख्नुपर्ने भएकाले वातानुकूलित बनाइने शाहीले बताए । फार्मेसी व्यवस्थित भएसँगै अशक्त बिरामीलाई औषधी सेवनका बारेमा परामर्श दिन छुट्टै कक्षको व्यवस्था गरिएको छ । औषधी मौज्दात र काउन्टर बढेसँगै छ जना मात्रै कर्मचारीले २४ घण्टा सेवा दिन भने हम्मेहम्मे भएको छ ।

यसअघि सेवाग्राहीले सेवा लिँदा हरेक ठाउँमा लाइन लाग्नुपर्ने समस्या देखाउने गरेकोमा अब औषधी किन्न धेरै समय लाइनमा बस्नुपर्ने गुनासो घटेको स्वास्थ्य बिमा दर्ता सहयोगी सूर्यादेवी भट्टराईले बताए। फार्मेसीमा काउन्टर थपिएपछि सहज रूपमा सबै औषधी पाएको जानकी गाउँपालिका वडा नम्बर ७ का कमल महतोको भनाइ छ । औषधी थोरै हुने र भएको औषधी पनि थुपारिएको कोठाबाट औषधी खोज्न गाह्रो हुने अवस्थाबाट ठुलै सुधार भएको इन्दिरा सापकोटाले बताए ।

फार्मेसी मापदण्ड अनुसार नभएकाले मापदण्ड पूरा गर्न र बिरामीलाई पर्याप्त र गुणस्तरीय औषधी उपलब्ध गराउन अस्पतालको आन्तरिक स्रोतबाट फार्मेसी व्यवस्थापन गरिएको अस्पतालका अध्यक्ष झपटबहादुर सोडारीको भनाइ छ । टीकापुरमा २०५७ सालदेखि सामुदायिक औषधी कार्यव्रmम र  अस्पताल घोषणा भएपछि फार्मेसी सञ्चालनमा आएको थियो । गोरखापत्रबाट

clock बिहिबार २६, पुष २०८० ०७:३०

प्रतिक्रिया