अनेरास्ववियु सुदूरपश्चिमको अधिवेशन आज, अध्यक्षमा राई र रोकायाको दाबी

  बुधबार २५, पुष २०८० १३:५४

कैलाली । नेकपा एकालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको आजबाट पहिलो प्रदेश अधिवेशन सुरु भएको छ ।

आज धनगढीमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले अधिवेशनको उद्घाटन गर्ने प्रदेश संयोजक मनोज राईले जानकारी दिए ।

अधिवेशनको उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य सहित अनेरास्ववियुका केन्द्रीय पदाधिकारी समेत धनगढी पुगिसेका छन् । सुदूरपश्चिम प्रदेशका करिब २५० जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् । आज र भोली जारी रहने अधिवेशनबाट प्रदेशले नयाँ नेतृत्व पाउने भएको छ।

अध्यक्षमा दुई जना

अहिले सम्म अनेरास्ववियु अध्यक्षका लागि २ जनाको दाबी देखिको छ । अहिले संयोजक रहेका मनोज राई र सह संयोजक रहेका कमल रोकायाले अध्यक्ष पदमा दाबी गरेको अनेरास्ववियु केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज दीपक धामीले जानकारी दिए ।

आकांक्षी धेरै भए पनि नेतृत्व सर्वसम्मत रूपले चयन गरिने उनले बताए । ‘अहिले सम्म २ जनाको दाबी गरिएको छ हामी सर्वसम्मत नेतृत्व चयन गर्छौ ’उनले भने।

अध्यक्षमा दाबी गरेका अहिलेका संयोजक मनोज राई कैलाली जिल्ला पार्टी सदस्य पनि हुन् । उनले आफूले संयोजक भएर राम्रो काम गरेको भन्दै फेरी पनि सर्वसम्मत नेतृत्व चयन हुने बताए । ‘हामीले धेरै नयाँ र सृजनशील काम गरेका छौँ । यसलाई अझै निरन्तरता दिनु छ’ उनले भने ।

अर्का आकांक्षी कमल रोकाया पनि कञ्चनपुर पार्टी जिल्ला कमिटी सदस्य हुन् । उनले सुदूरपश्चिमको अनेरास्ववियुलाई देशमै उत्कृष्ट र नमुना बनाउन आफूले दाबी गरेको बताए ।

‘हामी देशभरिनै पहिलो हुनुपर्छ म सुदूरपश्चिम अखिललाई पहिलो बनाउने अभियान सहित अध्यक्षको आकांक्षी हुँ’ उनले भने ।

श्रावण २८ गते कञ्चनपुरको युवा संघको अधिवेशनमा विवाद भएपछि रोकाया सहितकालाई कारबाही गरिएको थियो । केन्द्रीय सङ्गठन विभागले कारबाही फुकुवा गरेसँगै रोकायाले आफू नेतृत्व लिने गरी तयारी गरेको बताउँछन् ।

‘कञ्चनपुरको युवा संघ विवादमा कारबाही भएको सबैको कारबाही फुकुवा भएको छ’ सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए।

clock बुधबार २५, पुष २०८० १३:५४

प्रतिक्रिया