राष्ट्रियसभा निर्वाचन : कर्णाली र सुदूरपश्चिमका दुई उम्मेदवारविरुद्ध उजुरी

  बुधबार २५, पुष २०८० १०:०१

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका दुईजना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । 

आगामी माघ ११ मा १९ सिटका लागि हुने निर्वाचनमा सोमबार सात प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको थियो । आयोगले सातै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयमार्फत् मंगलबार उम्मेदवारहरूविरुद्ध उजुरी दिन सूचित गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कर्णाली र सुदूरपश्चिममा एकरएकवटा उजुरी परेको जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा दलित समूहतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णु विश्वकर्मा विरुद्ध नेकपा एमालेका उम्मेदवार हिक्मतबहादुर विकले उजुरी दिएका छन् । 

माओवादी उम्मेदवार विश्वकर्माको नाम समानुपातिक बन्द सूचीमा रहेकाले उनको उम्मेदवारी खारेज हुनुपर्ने उजुरीमा उल्लेख छ । त्यस्तै, सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त भट्टविरुद्ध नेकपा एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका छन् । भट्टको अपाङ्गतासम्बन्धी पहिचान प्रष्ट नरहेको उजुरीमा उल्लेख छ । भट्ट कैलाली कांग्रेसका सभापतिसमेत हुन् । 

दुई वटै उजुरीउपर आयोगले बुधबार छानबिन गर्ने र बिहीबार अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका प्रवक्ता शर्माले बताए ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा महिला, दलित र अन्यतर्फ गरी सत्ता गठबन्धन र नेकपा एमालेका तर्फबाट गरी दुईरदुई जनाको उम्मेदवारी परेको छ भने सुदूरपश्चिम प्रदेशमा पनि महिला, अन्य र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ दुईरदुई जनाको मात्रै उम्मेदवारी परेको छ । 

clock बुधबार २५, पुष २०८० १०:०१

प्रतिक्रिया