सुदूरपश्चिमका चार समितिको सभापति निर्विरोध

  मङ्गलबार २४, पुष २०८० १७:५८

धनगढी । सुदूरपश्चिमको प्रदेश सभाका चार वटा विषयगत समितिका सभापति पदमा चार जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका दिवानसिंह विष्टको विधायन तथा प्रदेश मामिला समितिमा उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र नेकपा (एकीकृत समाजवादी) की माया पन्तको सामाजिक विकास समितिमा उम्मेदवारी दर्ता भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिको सभापति वीरबहादुर थापालाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनका दलहरू बिच सोमबार साँझ भएको सहमति अनुसार मंगलवार दलहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।  

आज मनोनयनको समय ५ बजे सम्म तोकिएको थियो । निर्धारित समय सम्म चार वटा समितिमा चार जनाको मात्रै उम्मेदवारी दर्ता भएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।

भोली सभापतिको उम्मेदवार माथि दाबी विरोध, सभापति उम्मेदवारको अन्तिम नामावली प्रकाश र सभापति निर्वाचनको लागि बैठक प्रारम्भ गर्दै निर्वाचन परिणाम घोषणा गर्ने जनाइएको छ ।

 

clock मङ्गलबार २४, पुष २०८० १७:५८

प्रतिक्रिया