अत्तरियामा नयाँ व्यवस्थापनका साथ अलिसा म्युजिक रेकर्डिङ स्टुडियो सञ्चालनमा

  शनिबार २१, पुष २०८० १५:३५

अत्तरिया । कैलालीको अत्तरियामा नयाँ व्यवस्थापनका साथ अलिसा म्युजिक रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका वडा नम्बर २ नमस्ते गल्लीमा आजबाट उक्त रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको हो ।

आज बिहान सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले स्टुडियोको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री धामीले सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण संवर्द्धन र प्रवर्द्धन गर्नका निमित्त स्टुडियोले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

उनले कला संस्कृतिको क्षेत्रलाई संरक्षण संवर्द्धन र प्रवर्द्धन गर्ने उद्यमी व्यवसायीहरुलाई प्रदेश सरकारको प्रत्यक्ष सहभागिता र सहयोग रहने प्रतिबद्धता जनाए । आगामी आउने आर्थिक वर्षको बजेट व्यवस्था भित्र प्रदेश सरकारले कला संस्कृतिको छुट्टै शीर्षकमा बजेट व्यवस्थापन गर्ने गरी प्रदेश सरकार लागिपरेको उनले बताए । मन्त्री धामीले कला संस्कृति जगेर्नाको लागि सबैको साथ सहयोगको पनि अपिल गरे ।

स्टुडियोका सञ्चालक किशोर कुमार भण्डारीले गीतसङ्गीत क्षेत्रमा २५ वर्षको अनुभव रहेको बताउँदै विभिन्न स्थानबाट म्युजिक रेकर्डिङ स्टुडियोको काम गरी हाल अत्तरियामा नयाँ व्यवस्थापनका साथ अलिसा म्युजिक रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको बताए ।

सुदूरपश्चिमको पहिलो स्टुडियो रहेको बताउँदै सञ्चालक भण्डारीले दुई दशक भन्दा बढी समय देखि निरन्तर सङ्गीत क्षेत्रमा लागेर हजारौँ कलाकारलाई उत्पादन गर्दै आएको बताए । स्टुडियोमा लोकदोहोरी, डेउडा, राना थारु, चलचित्र लगायतका गीतहरू रेकर्ड हुने उनले बताए । उनले गीतसङ्गीत रेकर्डिङ गर्न चाहनेहरुलाई सुलभ मूल्यमा रेकर्डिङ गरिने बताउँदै सेवाको अवसर दिन आग्रह गरे ।

झन्डै १५ लाख लगानीमा अलिसा म्युजिक रेकर्डिङ स्टुडियो नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको स्टुडियोकी सह सञ्चालक कृष्णा सिराडीले बताइन् । उनले सुदूरपश्चिमका नवकलाकारहरूलाई काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्दै अत्तरियामा स्टुडियो सञ्चालनमा ल्याएको बताइन् ।

२०७३ सालदेखि गीतसङ्गीत सँगसँगै अलिसा म्युजिक रेकर्डिङ स्टुडियोसँग सहकार्य गरेर म्युजिकको कार्यलाई अगाडी बढाइरहेको सह सञ्चालक सिराडीले बताइन् । यस अघि अलिसा म्युजिक रेकर्डिङ स्टुडियो गोदावरी नगरपालिका(१ अत्तरिया स्थित महेन्द्रनगर रोड वरपीपल गल्लीमा सञ्चालनमा रहेको थियो।

clock शनिबार २१, पुष २०८० १५:३५

प्रतिक्रिया