एमाले दार्चुलाको नवनिर्वाचित कमिटीद्वारा पदभार ग्रहण

  शनिबार २१, पुष २०८० १४:४७

दार्चुला । नेकपा (एमाले) दार्चुलाको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीले पदभार ग्रहण गरेको छ । पुस १८ गतेदेखि सुरू भएको जिल्ला अधिवेशन सहमतिमै नयाँ जिल्ला कमिटी चयन गर्दै शुक्रबार सम्पन्न भएको हो ।

नवनिर्वाचित कमिटीले हिजो शुक्रबार सपथग्रहण र आज शनिबार पदभारग्रहण गरेको नेकपा (एमाले) दार्चुलाका इन्चार्ज एबं केन्द्रीय कमिटी सदस्य सहदेब बोगटीले जानकारी दिए ।

अधिवेशनबाट ज्ञानेन्द्र बहादुर घर्तीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी चयन भएको छ । जिल्ला कमिटीको उपाध्यक्षमा परमानन्द जोशी, सचिवमा उमेशराज जोशी, उपसचिवमा कर्णबहादुर खडायत र कमला पन्त बिष्ट चयन हुनुभएको छ ।

यस्तै खुला र भूगोल तर्फ सबै कलस्टर समेटेर ९० सदस्यीय जिल्ला कमिटी चयन गरिएको उनले बताए । सहमति र एकताको सन्देश सहित ऐतिहासिक रूपमा जिल्ला अधिवेशन सम्पन्न भएको नवौं जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष एबं एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले बताए ।

पदभार ग्रहण पछि शनिबार नै दार्चुला जिल्ला सदरमुकाम खलंगामा नवनिर्वाचित कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा निर्वाचित भएको प्रमाणपत्र वितरण र अगामी कार्ययोजनासहित आवश्यक विभिन्न विषयमा छलफल भएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए ।

बैठकमा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना, दार्चुला इन्चार्ज सहदेब बोगटी, निवर्तमान जिल्ला कमिटीका पदाधिकारी, एमाले दार्चुलाका नेताहरूको आतिथ्यता रहेको थियो । 

clock शनिबार २१, पुष २०८० १४:४७

प्रतिक्रिया