सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्र संसदीय दलभित्र आपसी किचलो बढ्दै

  शनिबार २१, पुष २०८० १४:४२

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने माओवादी केन्द्र संसदीय दलभित्र आपसी किचलो बढ्दै गएको छ।

सभामुखसहित ११ सदस्य रहेको संसदीय दलमा दलका नेता खगराज भट्टसहितका चार जना सांसद एकातर्फ देखिएका छन् भने सभामुख भीमबहादुर भण्डारीसहित सात सांसदहरू फरक कित्तामा उभिएका छन्। फरक कित्तामा रहेका सांसदहरू दलका नेता भट्ट र सरकारमा रहेका मन्त्रीहरूले नेतृत्व गर्न नसकेको दावी गर्दै मन्त्री फेरबदल गर्नुपर्ने माग गरिरहेका छन्। 

फरक कित्तामा उभिएका सभामुखसहित सात जना सांसदहरूले शनिबार विहान माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटर सुदूरपश्चिममा संसदीय दलका नेताले कूशल नेतृत्व गर्न नसकेको र सरकारमा रहेका मन्त्रीहरूको कार्यक्षमता कमजोर देखिएकाले फेरबदल गर्न आग्रह गरेका छन्।

भेटमा सहभागी सांसद शिवसिंह ओलीले भने, ‘प्रधानमन्त्रीलाई भेटेर हामीले सुदूरपश्चिमको अवस्थाबारे जानकारी गराउँदै यही ढंगले चल्दैन, सरकारमा सामेल मन्त्रीहरूलाई फेरबदल गर्न आग्रह ग¥यौं।’ कांग्रेस नेतृत्वको प्रदेश सरकारमा तीन जना सहभागी छन्। झपटबहादुर साउद, रमेशसिंह धामी मन्त्री र गीता माल राज्यमन्त्री छन्।

राज्यमन्त्री गीता माल पनि दलका नेता समूहभन्दा फरक कित्तामा उभिएकी हुन्। उनले पनि प्रधानमन्त्रीसँगको भेटमा सरकारमा रहेका मन्त्रीहरू फेरबदल गर्न आग्रह गरिएको बताइन्। दलका नेता भट्टको समूहमा उनीसहित चार जना सांसदहरू देखिएका छन्। भट्ट, जानकीदेवी कुँवर, र सामाजिक विकास मन्त्री झपटबहादुर साउद, उद्योग पर्ययट वन तथा वातावरण मन्त्री रमेशसिंह धामी एकातर्फ देखिएका छन्।

अर्कोतर्फ सभामुख भीमबहादुर भण्डारी, प्रमुख सचेतक मानबहादर धामी, अक्कलबहादुर रावल, सांसदहरू शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी बिक र राज्यमन्त्री रहेकी गीता माल देखिएका छन्। यता, संसदीय दलका नेता भट्टले फरक देखिएका सांसदहरूले स्वार्थको संघर्ष गरिरहेको बताए।

clock शनिबार २१, पुष २०८० १४:४२

प्रतिक्रिया