सुदूरपश्चिमसहित ६ प्रदेशका निर्वाचन अधिकृत परिवर्तन

  बिहिबार १९, पुष २०८० १८:२७

धनगढी । निर्वाचन आयोगले सुदूरपश्चिमसहितका ६ प्रदेशका निर्वाचन अधिकृत परिवर्तन गरेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि पुस १२ गते तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन भएका हुन्।

आयोगले बिहिवार एक विज्ञप्ति जारी गरी निर्वाचन अधिकृतहरू परिवर्तन गरिएको बताएको छ। आयोगले पुस १२ को निर्णयबाट कोशी प्रदेशका लागि दुर्गाप्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओम प्रसाद अर्याललाई निर्वाचन अधिकृत तोकेको थियो।

तर न्याय परिषद्को पुस १८ मा बसेको बैठकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि निर्वाचन अधिकृत तोकिएका क्रमशः ढुङ्गेल, सुवेदी, बास्तोला, कार्की, अर्याल र अर्याललाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेको थियो। साथै, बागमती प्रदेशका लागि निर्वाचन अधिकृत तोकिएका कार्कीले आफूलाई स्वास्थ्य समस्याका कारण निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको भनी निवेदन दिएका थिए।

आयोगले बिहीवारदेखि नै लागू हुने गरेर निर्वाचन अधिकृतको पदमा नयाँ नामहरूलाई नियुक्त गरेको छ। कोशी प्रदेशमा विष्णुप्रसाद गौतम, मधेशमा चित्रबहादुर गुरुङ, बागमतीमा श्रीप्रसाद संजेल, गण्डकीमा ऋषिराम आचार्य, लुम्बिनीमा कुलप्रसाद पाण्डे, कर्णालीमा मनोज श्रेष्ठ र सुदूरपश्चिममा विष्णुप्रसाद अवस्थी निर्वाचन अधिकृतको पदमा नियुक्त भएका छन्।

clock बिहिबार १९, पुष २०८० १८:२७

प्रतिक्रिया