दार्चुलाको विकासमा एमालेको अहम् भूमिका छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

  बुधबार १८, पुष २०८० १९:५५

दार्चुला । दार्चुला जिल्लाको विकासमा नेकपा एमाले नेतृत्वको सरकारको महत्वपूर्ण भूमिका रहेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको ९ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता पोख्रेलले एमाले नेतृत्वको सरकारले दार्चुलामा ठूला साना थुप्रै विकासका गतिविधि अगाडी बढाएको बताए ।

नेपाली सेना मार्फत तिकर नाका खोल्ने काम सुरु गराउन एमाले नेतृत्वको सरकारले भूमिका खेलेको वरिष्ठ उपाध्यक्ष पोख्रेलले बताए । अहिलेको गठबन्धनको सरकारले कुनै काम गर्न नसक्ने उनको आरोप थियो ।

पूर्व मन्त्री गणेश सिंह ठगुन्नाले गोकुलेश्वर एयरपोर्ट निर्माणमा एमालेको सरकार भएको बेलामा मात्रै बजेट विनियोजन भएको स्मरण गरेका थिए । उनले अरू पार्टीको नेतृत्वका बोला बजेट काटिएको समेत बताए ।

जिल्ला कमिटी अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षता सुरु भएको जिल्ला अधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रमुख अतिथि रहेका थिए ।

बुधबार उद्घाटन गरिएको अधिवेशनबाट नेकपा एमाले जिल्लाको नयाँ नेतृत्व समेत चयन हुने छ । जिल्ला कमिटी अध्यक्षमा ४ जना सहित पाँच पदाधिकारीमा २७ जना आकांक्षीहरु छन् ।

जसमा अध्यक्ष पदमा ४ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ५ जना र उपसचिवमा १३ जना आकांक्षी रहेका छन् ।उपसचिव खुल्लातर्फ ७ जना र समावेशी महिलातर्फ ६ जनाले आकांक्षी देखिएका छन् ।

एमालेले दार्चुलाका वटै ६१ वडामा पुस १४ गते शनिबार एकसाथ अधिवेशन प्रतिनिधि चयन गरिसकेको छ । नवौँ जिल्ला अधिवेशनमा झन्डै साढे चार सय प्रतिनिधि छनोट भएका छन् ।

clock बुधबार १८, पुष २०८० १९:५५

प्रतिक्रिया