सुदूरपश्चिम सरकारको अकर्मण्यताले प्रदेश संसद् सुस्त भयो : एमाले

  सोमबार १६, पुष २०८० १७:३९

धनगढी । सुदूरपश्चिम सरकारका कारण सुदूरपश्चिम प्रदेश सभाको काम सुस्त भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ।  प्रदेश सभाको एक वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सरकार प्रति खरो टिप्पणी गरे ।

गठबन्धनको सरकार बहुमतको धङधङीमा रहेको भन्दै कानुन निर्माणमा चासो नदिएको र निर्माण भएका कानुनहरूको कार्यान्वयनमा पनि मौन रहेको आरोप लगाए । उनले पुराना कानुन संशोधन गर्नु पर्ने अवस्थामा पनि सरकारले चासो नदिएको बताए । 

‘जनताको अधिकार सुनिश्चित गर्न सकेको छैन । व्यक्तिलाई विधि भन्दा माथि राखेको छ । सरकार जनताका विषयमा मौन छ ’ रावलले भने । अहिले सरकार उल्टो बाटोमा हिँडिरहेको भन्दै उनले भ्रष्ट्राचार, बिचौलिया बढीको आरोप लगाए ।

सरुवाको नाममा सरकारले  कर्मचारीहरूलाई त्रसित गराएको समेत उनको आरोप थियो । संसदीय समितिले अहिले सम्म पनि सभापति पाउन नसकेको भन्दै उनले सरकार गैर जिम्मेवार भएको बताए । ‘अहिले पनि ज्येष्ठताको आधारमा काम चलाऊ काम भइरहेको छ’ उनले भने, ‘संसदीय अध्यास भएका छैन । संसदीय मर्यादामा काम भएको छैन । ’

सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षसँग रहने उल्लेख गर्दै उनले अहिले सुदूरपश्चिममा त्यसमा पनि राजनीति हुन लागेको बताए । सांसदलाई सरकारले प्रयोग गर्न नसकेको भन्दै उनले अहिले सरकार भ्रमणमै केन्द्रित भएको बताए । सुदूरपश्चिम प्रदेशमा भूकम्पबाट पीडित भएकाहरूको विषयमा पनि सरकार गम्भीर नभएको रावलको भनाइ थियो । 

उनले सुदूरपश्चिमका मुख्यमन्त्री पनि प्रचण्ड पथ तर्फ केन्द्रित भएको आरोप लगाए । ‘ मुख्यमन्त्री पनि प्रचण्ड पथ तर्फ केन्द्रित भएको जस्तो लागेको छ’ उनले भने, ‘कुनै उपलब्धि देखिएको छैन । अहिले कमिसनमा योजना बाँड्ने मात्रै काम भइरहेको देखिएको छ । ’

रावलले सरकारले आयोजना गर्न लागेको विकास तथा लगानी सम्मेलनको विषयमा पनि प्रश्न उठाए । यो विषयमा कुनै छलफल भएको छैन उनले भने, विज्ञ भन्दा पनि आसेपासे त्यहाँ भर्ती गरिएको छ।  उनले संसदीय समितिहरू आफ्नो काम थाती राखेर गरिरहेको भ्रमण प्रति पनि विरोध जनाए ।

यस्तै एमालेकै सांसद धर्मराज पाठकले पनि सरकार गैर जिम्मेवार भएको टिप्पणी गरे । अहिले को सरकार कुहिरोमा हराएको काग जस्तो भएको पाठकको भनाइ थियो । नीति तथा कार्यक्रम  एउटा ल्याएर बजेट अर्को ल्याउने र अहिले त्यही बजेट पनि कार्यान्वयन हुन नसक्ने अवस्था आएको उनले जिकिर गरे । 

सरकारको उपलब्धि नरहेको उनले बताए । पाठकले प्रदेश सरकारले प्रदेश सभामा तालाबन्दी गरेको समेत टिप्पणी गरेका थिए ।  

‘संसदीय समितिका सभापति चयन हुन सकेका छैनन् । सरकारले बिजनेस दिन सकेको छैन’ उनले भने ‘प्रदेश सभामा  सरकारले भोटे ताल्चा लगाएको छ । सरकारको अकर्मण्यता कारण प्रदेश सभा पनि सुस्त भएको छ । ’ उनले संसदीय समितिहरू पनि भ्रमणमा केन्द्रित भएको भन्दै आलोचना गरे ।

अघिल्लो वर्ष पुस १५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका थिए ।आफ्नो कार्यकालको पहिलो वर्ष पुरा गर्दा पनि प्रदेश सभाले पर्याप्त काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । एक वर्षमा सुदूरपश्चिम प्रदेश सभाले कुनै पनि नयाँ कानुन निर्माण गर्न सकेको छैन । अहिले सम्म विषयगत समितिले नेतृत्व पाउन सकेको छैन भने समितिका कार्यालयहरू पनि तयार भएका छैनन् 

clock सोमबार १६, पुष २०८० १७:३९

प्रतिक्रिया