विपिन जोशीको रिहाइका लागि प्रयासरत छौं : परराष्ट्रमन्त्री साउद

  आइतबार १५, पुष २०८० १५:०९

कन्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।

आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताए।

‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक(पटक आग्रह गरेका छौँ,’ उनले भने, ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैँ गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु।’ उनले दोस्रो युद्धविराममा विपिनको रिहाइ हुनेमा आश्वस्त पारे।

त्यस अवसरमा विपिनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी विपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए।

‘कतारले दोस्रो युद्धविरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ। दोस्रो युद्धविराममा विपिन सकुशल फर्किने अपेक्षा छ,’ उनले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ।’

उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे।

मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्ध समेत सन्तुलित रूपमा अघि बढिरहेको दाबी गरे। ‘अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुटता आएको जस्तो देखिन्थ्यो,’ मन्त्री साउदले भने, ‘परराष्ट्र नीति छिमेकीहरूलाई प्राथमिकता दिएर सन्तुलित रूपमा अघि बढिरहेको छ।’

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण भएपछि १० वर्षमा १० हजार मेगावाट विद्युत नेपालले भारतलाई बिक्री गर्ने र २५ वर्षसम्म भारतले विद्युत खरिद गर्ने विषयमा दुई देशबीच सम्झौता भएको उल्लेख गरे।

clock आइतबार १५, पुष २०८० १५:०९

प्रतिक्रिया