राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

  आइतबार १५, पुष २०८० १४:१६

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय जानकारी दिन आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने, ‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन गरेर जाने निर्णय भएको छ । गठबन्धनमा यसबारे छलफल हुन्छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतिको आधारमा साझा उम्मेदवार बनाउने हाम्रो बैठकको निर्णय हो ।’ 

यस्तै बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्तिहरु र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय गरेको विश्वकर्माले बताए ।

‘पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्न सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका हालसम्म कुनै अवसर नपाएका र विभिन्न कारणबाट अवसरबाट बञ्चित भएका योग्य तथा व्यक्ति अवसर दिन्छ,’ उनले भने । आगामी माघ ११ मा राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

clock आइतबार १५, पुष २०८० १४:१६

प्रतिक्रिया