बालकुमारी घटनाबारे रविले भने – देश छोड्न खोजेका युवालाई सरकारले संसार छोड्ने बनायो

  शुक्रबार १३, पुष २०८० १९:०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बालकुमारी घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदांगो भएको बताएका छन्। 

सामाजिक सञ्‍जालमा एक्समा पोस्ट गर्दै उनले देश छोड्न खोजिरहेका दुई होनहार युवालाई सरकारले संसार छोड्‍ने बनाएको बताएका छन्। उनले भनेका छन्, 'दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्।'

बालकुमारी घटनाको दोस अहिलेको सत्तामा भएका सबैले लिनुपर्नेसमेत उल्लेख गरेका छन्। उनले भनेका छन्, 'आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ। घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला।'

'रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा मर्माहत भएको छु। शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना। गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन। तर परिवारलाई राहत दिइयोस्। परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस्,' उनले भनेका छन्। 

clock शुक्रबार १३, पुष २०८० १९:०४

प्रतिक्रिया