कांगेस केन्द्रीय समिति बैठक: राष्ट्रियसभा उम्मेदवारका लागि मापदण्ड बनाउन सुझाव

  शुक्रबार १३, पुष २०८० ०६:३३

काठमाडौं । नेपाली कांगेस केन्द्रीय समिति बैठक ललितपुर सानेपास्थित कार्यालयमा सुरु भएको छ । बिहीबारको बैठकमा मन्त्रीहरूले पार्टीसँग समन्वय नगरी काम गरेको गुनासो आएपछि मन्त्रीहरूको कार्यसम्पादन र पार्टीको महासमित बैठक तथा राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफलको विषय केन्द्रित भएको छ ।

यसअघि कांग्रेसले पार्टीको केन्द्रीय समितिको बैठक लाइभ गरे पनि यसपटक भने त्यसो गरेन । यसपटक पार्टीको बैठक लाइभ नगर्नुमा मन्त्रीहरूको काम कारबाहीको समीक्षा गरिने भएकाले बन्द हलमा बैठक गरिएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेसँगै कांग्रेसले आफ्ना मन्त्रीहरूको कार्यसम्पादनको विषयमा समीक्षा गर्नका लागि बैठक बोलाएको हो ।

बिहीबारको बैठकमा अधिकांश नेताहरूले आउँदो राष्ट्रियसभा निर्वाचनमा हारेकालाई नबनाउन सुझाव दिएका छन् । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार हुन मापदण्ड बनाइनुपर्ने मत रहेको छ । कांग्रसका केन्द्रीय सदस्य देवेन्द्र कँडेलले विभिन्न तहमा निर्वाचन लडेर हारेकाहरूलाई उम्मेदवार बनाउन नहुने बताए । ‘अवसर नपाएकाहरूलाई अवसर दिऔं, मापदण्ड बनाऔं,’ उनले बैठकमा भने । अर्का नेता राजीव कोइरालाले पनि निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउन नहुने बताए । अन्यथा आफूलाई पनि उम्मेदवार बनाउन उनको माग छ । ‘हारेकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने भए मैले पनि चुनाव हारेको हो, मलाई पनि उम्मेदवार बनाऊ, मापदण्ड बनाऊ, निर्वाचन हारेकालाई उम्मेदवार नबनाऊ,’ बैठकमा कोइरालाले भनेका थिए ।

केन्द्रीय सदस्य डिला संग्रौलाले राष्ट्रिय सभा निर्वाचनको प्रसंग झिकेकी थिइन् । ‘राष्ट्रिय सभामा पार्टीले उम्मेदवार छनोट गर्दा न्यायको सिद्धान्तनुसार हुनेगरी मापदण्ड बनाइयोस्,’ उनले भनिन्, ‘सरकारका कामको जस लिन पाइयोस् ।’

बैठकमा दुई महामन्त्रीहरूले आफ्नो एजेन्डा प्रस्तुत गरे । महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एकवर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूको कार्यसम्पादनको अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामको समीक्षा, समुदायमा कांग्रेस ः मेलमिलाप दिवसदेखि सहिद दिवससम्म अभियान एजेन्डा भएको बताए ।

त्यस्तै, महामन्त्री थापाले ७ देखि १० फागुन महासमिति बैठक तयारी, १६ र १७ फागुन सुवर्णशमशेर आर्थिक सम्मेलन, डिजिटल कांग्रेस बनाउने काम अन्तिम चरणमा पुगेको, पुस्तकालय निर्माणलगायत विषयमा कुरा राखेका थिए । आगामी १२ माघमा पार्टी स्थापना दिवस वडा तहमा मनाउने र त्यसका लागि सबै नेता आफू मतदाता रहेको वडाका कार्यक्रममा जानुपर्ने विषय थापाले राखेका छन् । उनले १७ जिल्लामा पार्टीभित्र आन्तरिक विवाद देखिएकाले समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरेका छन् । उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाए । महरले प्रतिस्पर्धी पार्टीप्रति पार्टीको आधिकारिक दृष्टिकोण माग गरे ।

त्यस्तै, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा जाजरकोटमा भूकम्प प्रभावितलाई निर्माण गरिएको अस्थायी टहराको विवरण प्रस्तुत गरियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बिहीबार सहमहामन्त्री जीवन परियारले ४ सय ७ वटा टहरा निर्माण गरिएको विवरण प्रस्तुत गरेका हुन् । पार्टीका तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा १ सय २५, मोहन आचार्यको नेतृत्वमा १ सय १३, योगेन्द्र चौधरीको नेतृत्वमा २५ वटा टहरा निर्माण गरिएको उनले जानकारी दिए ।

clock शुक्रबार १३, पुष २०८० ०६:३३

प्रतिक्रिया