गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटन नगर्न उपमेयरद्वारा मेयरको ध्यानाकर्षण

  बुधबार ११, पुष २०८० १९:३६

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटन नगर्न उपमेयरले मेयरको ध्यानाकर्षण गराएकी छिन् । उपमेयर शारदा रोकाय सहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको भवन पुनः उद्घाटन गर्ने भन्ने सुनिन आएकाले त्यसो नगर्न मेयर बिरेन्द्र भट्टको ध्यानाकर्षण गराएका हुन ।

एडीबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले निर्माण गरेको नगरपालिकाको प्रशासकीय भवनको निवर्तमान मेयर हरि सिह साउदले २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए । निवर्तमान मेयर साउदले भवन निर्माण नहुँदै उद्घाटन गरेको भन्दै विरोध भएको थियो ।

भवन निर्माण गरेको क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले नगरपालिकालाई हस्तान्तरण नगर्दै भवन उद्घाटन गरेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका दलहरूले विरोध जनाएका थिए ।

उक्त भवनको पुनः उद्घाटन गरिन लागेको भन्दै हाल एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका छन । यद्यपि नगरपालिकाले भवनको पुनः उद्घाटन गर्ने विषयमा कुनै आधिकारिक जानकारी दिएको छैन ।

एमालेका जनप्रतिनिधिले मेयर भट्टलाई बुझाएको ध्यानाकर्षण पत्रमा भवनको उद्घाटन भई कार्यालय समेत सञ्चालनमा आइनसकेकोले पुनः उद्घाटन गरिनु कानुन सम्मत उचित नभएको उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘एउटा स्थानीय सरकारले गरेका कार्य दोहर्याए रहने विषय कानुन सम्मत उचित नभएकोले भविष्यमा यसको नकारात्मक प्रभाव स्थानीय जनमानसमा पर्ने हुँदा उक्त कार्य नगर्न र नगराउन यो ध्यानाकर्षण पत्र पेश गर्दछौ ।’

ध्यानाकर्षण पत्रमामा उपमेयर रोकाया ४ जना वडा अध्यक्ष सहित १७ वडा सदस्यहरूले हस्ताक्षर गरेका छन ।

clock बुधबार ११, पुष २०८० १९:३६

प्रतिक्रिया