देउवाले अब नेतृत्व छोड्छन् : उपसभापति खड्का

  आइतबार ०८, पुष २०८० ०६:१०

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट नेतृत्व छोड्ने खुलासा गरेका छन्। नेपाली कांग्रेस वागमती प्रदेशको प्रथम अधिवेशनमा बोल्दै उपसभापति खड्काले यस्तो खुलासा गरेका हुन्।

उनले सभापति देउवाले आगामी महाधिवेशनबाट नेतृत्व छोड्ने घोषणा गरिसकेको अवस्थामा पार्टी र नेतृत्वबारे गुनासो नगर्न पनि आग्रह गरे। पार्टी भित्र र जनतासँग राम्रो काम गरेर कमजोरी सुधारी अघि बढ्नुपर्ने आवश्यकता रहेको खड्काले बताए।

खड्काले पार्टीको नेतृत्वमा आउने व्यक्ति सुधारिएर आएमा पार्टी आफैँ सुध्रिने बताएका छन्। नेतृत्वलाई गुनासो गर्नुभन्दा पार्टीका लागि आफैँ अग्रसर हुनुपर्ने बताए।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताले पार्टी नेतृत्व र सरकारमा गएका नेताहरूको बारेमा आलोचना गरेपछि पार्टी उपसभापतिको यस्तो भनाइ आएको हो।

पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता भएकाले पार्टी जिम्मेवारीमा भएकाहरूले बोलेर मात्रै नहुने भन्दै सबैलाई जोडेर संविधान बनाउन सक्ने पार्टीले आफूभित्रको सुधार सहज रूपमा गर्न सकिने बताए। सुधार गर्न पहिला आफैंबाट सुरु गर्नुपर्ने बताए।

उनले भने, ‘यहाँ आएका सुझावबाट हामीलाई प्रेरणा मिलेको छ। पार्टी नेतृत्वमा सुधारिएको व्यक्ति आएमा र हामीले आफैँमा सुधार ल्याएमा पार्टीमा पनि सुधार हुने हो। जिम्मेवारीमा भएकाहरूले बोलेर मात्रै हुँदैन। सबैलाई जोडेर संविधान बनाउन सक्ने पार्टीले आफ्नै पार्टी बनाउन नसक्ने भन्ने हुँदैन।’ 

पार्टीले विगतमा गरेका कमजोरी दोहोर्‍याउन नहुने खड्काको भनाइ थियो।

खड्काले सरकारले इमानदारीपूर्वक काम गरेको पनि बताए। गठबन्धनको सरकार भएकाले एक पार्टीको सरकारले योजना बनाए जस्तो काम हुन नसक्ने दावी गरे। तैपनि सरकारले इमान्दार रूपमा काम गरिरहेको उनको कथन छ।

clock आइतबार ०८, पुष २०८० ०६:१०

प्रतिक्रिया