सुदूरपश्चिम प्रदेशस्तरीय १६ वर्षमुनिको क्रिकेटको छनोट प्रतियोगिताको मिति तय

  बिहिबार ३०, चैत २०७९ ०९:४६

विराज रोस्यारा, कैलाली । सुदूरपश्चिम प्रदेशस्तरीय १६ वर्षमुनिको क्रिकेटको छनोट प्रतियोगिताको नयाँ मिति तय भएको छ। यसअघि अछाममा चैत २८ गतेदेखि हुने भनिएको प्रतियोगिता सडक बन्दका कारण स्थगित गरिएको थियो। 

सार्वजनिक नयाँ मितिअनुसार प्रतियोगिता वैशाख १ गतेदेखि हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।प्रतियोगितामा सहभागी हुने प्रदेशका आठ टिमलाई दुई समूहमा विभाजन गरिएको संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

समूह ‘ए्’मा कैलाली, बैतडी, डडेल्धुरा र दार्चुला रहेका छन्। समूह ‘बी’मा कञ्चनपुर, अछाम, डोटी र बझाङ रहेका छन्। दुबै समूहबाट शीर्षमा रहेका टोली फाइनल खेल्नेछन्।

अछामको साँफेबगरमा हुने प्रतियोगिताको पहिलो खेलमा वैशाख १ गते बिहान साढे ८ बजे अछाम र डोटी आमनेसामने हुँदा सोही दिन हुने अर्को खेलमा कञ्चनपुर र बझाङ भिड्नेछन्।

वैशाख २ गते हुने दोस्रो खेलमा कञ्चनपुर र डोटी भिड्दा दोस्रो खेलमा अछाम र बझाङ प्रतिस्प्रर्धा गर्नेछन्। वैशाख ३ गतेको खेलमा कैलाली र डडेल्धुरा तथा बैतडी र दार्चुलाबीच भिडन्त हुनेछ।

वैशाख ४ गते पहिलो खेलमा कञ्चनपुर र अछामबीच भिडन्त हुँदा दोस्रोमा बझाङ र डोटीबीच प्रतिस्प्रर्धा हुनेछ। वैशाख ५ गते बैतडी र डडेल्धुरा तथा कैलाली र दार्चुला भिड्नेछन्।

वैशाख ६ गते कैलाली र बैतडी तथा दार्चुला र डडेल्धुराबीच प्रतिस्प्रर्धा हुनेछ। वैशाख ७ गते हुने फाइनल खेलमा समूह ‘ए’को विजेता र समूह ‘बी’का विजेता भिड्नेछन्।

उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले  राष्ट्रियस्तरीय छनौट प्रतियोगिता खेल्नेछ।

राष्ट्रियस्तरीय छनोट प्रतियोगिता वैशाख १० गतेदेखि धनगढीमा सञ्चालन हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मद्देनजर गर्दै जिल्ला र प्रदेश छनोट गर्न निर्देशन दिएको हो।

clock बिहिबार ३०, चैत २०७९ ०९:४६

प्रतिक्रिया