बालेनलाई भेटेपछि हर्क साम्पाङको प्रतिक्रिया- हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ !

  शुक्रबार २९, मङि्सर २०८० ०९:२३

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् । हरेक दिन उनले फेसबुकमा दर्जनौं स्टाटस लेख्छन् । आफ्ना हरेक गतिविधि र विचार उनले फेसबुकमार्फत् सार्वजनिक गर्दै आएका छन् । 

उनी केहीदिनअघि मात्रै काठमाडौं आएका थिए । काठमाडौंमा रहँदा उनले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरूलाई भेटे । 

काठमाडौं आएका बेला उनले मेयर बालेन्द्र शाह (बालेन) लाई पनि भेटेका थिए । काठमाडौंका मेयर बालेनसँगको उनको भेट चर्चाको विषय बन्यो । गत निर्वाचनमा बालेन र हर्क दुवै स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । 

यी दुई मेयरलाई लिएर विभिन्न अड्कलबाजीसमेत हुँदै आएको छ । कतिपयले आगामी निर्वचनअघि दुवैले मिलेर पार्टी खोल्ने समेत चर्चा गर्दै आएका छन् । काठमाडौंमा बालेनलाई भेटेर फर्केपछि हर्कले पनि त्यस्तै संकेत गरेका छन् । 

शुक्रबार बिहानै उनले फेसबुकमा लेखेका छन्,"हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ !" यसले बालेन र हर्क मिलेर नयाँ पार्टी खोल्ने चर्चा गरिरहेकाहरूलाई बल पुर्‍याएको  छ । 

उसो त उनले बिहीबार मात्रै बालेनसँगको तस्वीर राख्दै यही शंकालाई बलपुग्ने स्टाटस लेखेका थिए ।  "जीत हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन विशाल बन्छौँ धन्दै नमान !" उनले लेखेका थिए । 

यसबारे थप बुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया जनाउन मानेनन् । "भेटेर कुरा गरौला" भन्दै फोन राखिदिए । 

clock शुक्रबार २९, मङि्सर २०८० ०९:२३

प्रतिक्रिया