एमालेको यात्राको विरोधमा खोटाङ बन्द, रुख ढालेर सडक अवरुद्ध

  मङ्गलबार २६, मङि्सर २०८० ०९:३७

काठमाडौँ । एमालेको मध्यपहाडी लोकमार्ग यात्राको प्रतिरोधमा पहिचान पक्षधरले खोटाङ बन्द गराएका छन् भने ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध पारेका छन्।

पहिचान पक्षधर समूहले आह्वान गरेको बन्दका कारण खोटाङमा मंगलबार बिहानैदेखि यातायात ठप्प भएको छ। नेकपा (एमाले) ले सञ्चाल गरिरहेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोधमा पहिचान पक्षधर समूहले मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आह्वान गरेको हो।

समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा बृहत जनसभा गर्ने तयारी गरेको छ। त्यसकै विरोधमा प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तरगत घुर्मी (उदयपुर–लेगुवाघाट–धनकुटा) सडक बन्द गरेको हो। बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सार्वजनिक सवारी साधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।

कोशी प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत पहिचान पक्षधर समूहले गएराति खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेछ।

सडकमा गरिएको अवरोध पन्छाइसकिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए। “रुख काटेर लडाएर सडक अवरोध गरिएको रहेछ। बिहानै क्लियर गरिसकेका छौं,” खड्काले भने।

पहिचान पक्षधर समूहले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित बिरोधका कार्यक्रम गरिरहेको छ।

पहिचान पक्षधरको बन्दका कारण जनजीवन प्रभावित भएको छ। सार्वजनिक सवारी साधन चल्न सकेका छैनन्। बन्दलाई ध्यानमा राखेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

clock मङ्गलबार २६, मङि्सर २०८० ०९:३७

प्रतिक्रिया