विपिन जोशीलाई छुटाउन कतारलाई नेपालको आग्रह
धनगढी । विपिन जोशीलाई छुटाउनको लागि नेपालले फेरि कतारलाई आग्रह गरेको छ । दोहामै राजनीतिक कार्यालय भएको हमास समूहको कतारसँग सुमधुर सम्बन्ध रहेको छ । सोही सम्बन्धलाई आधार मानेर नेपालले कतारलाई लगातार हमासले बन्दी बनाएका जोशीलाई रिहा गर्नको लागि पहल गरिरहेको छ ।
आइतबारबाट सुरु भएको २१ औं दोहा फोरममा सहभागी हुन गएको अवसर पारेर परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग भेटवार्ता गर्दै जोशीको रिहाईको लागि पहल गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी जोशीको छिटोभन्दा छिटो रिहाईको लागि पहल गरिदिन आग्रह गरे । जवाफमा खुलाइफीले नेपाली नागरिक जोशीको रिहाईको लागि लगातार रुपमा लागिरहेको जानकारी दिए ।
हमास विद्रोहीले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दै इजरायलसहित विभिन्न मुलुकका नागरिकहरुलाई बन्दी बनाएर लगेको थियो । त्यसमा नेपालका जोशी पनि सामेल छन् । जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका थिए । अक्टोबर ७ को आक्रमणमा सोहि कार्यक्रम अन्तरगत गएका १० जना नेपालीको घटनास्थलमा मृत्यु भएको थियो । त्यसपछि नेपाल सरकारले नेपालीहरुलाई हवाई उद्धार गर्ने काम पनि गर्यो ।
गत मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालस्थित कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए । जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए । नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको उनको भनाइ थियो ।
मन्त्री साउदले मंसिर ८ कतारका अर्का विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए ।
कतार उड्नुअघि परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइका विषयमा इजरायल सरकारका प्रतिनिधिसँग पनि संवाद गरेका थिए । उनले इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए । मन्त्री साउदले यस अघि नेपालका लागि इजयलका राजदूत हनान गोदरसँग पनि मंसिर ७ मा जोशीको रिहाइका बारेमा कुरा गरेका थिए । परराष्ट्रमन्त्रीले अमेरिका भ्रमणका दौरान अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनसँग पनि जोशीको रिहाईको लागि आग्रह गरेका थिए ।
विभिन्न मुलुकहरुबाट जोशीको रिहाईको लागि आग्रह भइरहे पनि उनी अहिले पनि हमासकै कब्जामा रहेको भनिएको छ । यो बीचमा परराष्ट्रमन्त्रीले तीन पटक र प्रधानमन्त्री पुष्पकमल दाहालले एक पटक जोशीको परिवारलाई भने भेटिसकेका छन् ।
प्रतिक्रिया