एक्लै चुनाव नलड्दासम्म कांग्रेस कमजोर हुँदै जान्छ : डा. कोइराला

  शनिबार २३, मङि्सर २०८० १२:३६

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक्लै चुनाव नलड्दासम्म पार्टी कमजोर हुँदै जाने औल्याएका छन्।

चितवन–काठमाडौं प्रजातान्त्रिक सङ्गमको ३३औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनको शनिबार चितवनमा उद्घाटन गर्दै डा. कोइरालाले कांग्रेसलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्नेमा जोड दिए।

“देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो। कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन,” उनले भने, “कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ।”

नेतृत्वका कारण कांग्रेस कमजोर हुँदै गएको उनको आरोप थियो। “केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ। यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो,” डा. कोइरालाले भने, “यसको नतिजा चितवनमा कांग्रेसको सङ्गठन कमजोर हुँदै गएको छ। यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ।”

कांग्रेस एक्लै चुनाव लड्नुपर्नेमा उनले जोड दिए। “जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैन, तबसम्म पार्टी झन्झन् कमजोर हुँदै जान्छ,” डा।कोइरालाले भने।

उनले देशको आर्थिकस्थिति खस्किँदै गएको उल्लेख गरे। विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्था आउनु चिन्ताको विषय भएको उनको भनाइ थियो।

clock शनिबार २३, मङि्सर २०८० १२:३६

प्रतिक्रिया