भ्रष्टाचार नियन्त्रणका लागि सरकार दृढतापूर्वक अगाडि बढिरहेको छः प्रधानमन्त्री प्रचण्ड

  शनिबार २३, मङि्सर २०८० १२:२१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार भ्रष्टाचार नियन्त्रणका लागि थप दृढतापूर्वक अगाडि बढ्ने बताएका छन् । आज (शनिबार) भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले राज्यका सबै अंगलाई कानुनबमोजिम परिचालन गरिरहेको र आगामी दिनमा पनि थप सशक्त कदम चाल्ने बताएका हुन् ।

भ्रष्टाचारको कारण पहिचान गरी त्यसको निवारणका लागि सरकार लागि रहेको उनले बताए । उनले यो बीचमा भ्रष्टाचार विरोधी अभियानले केही सफलता हासिल गरेको बताए । साथै, यो बीचमा केही आशाका अनुभूतिहरु पनि पाएको उनको दाबी छ । 

आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी रहेको पनि उनले स्मरण गराए । साथै, आफूले प्रधानमन्त्रीको जिम्मेवारी पाएदेखिनै सुशासन, सामाजिक न्याय, र समृद्धिलाई लक्ष्य बनाइ अगाडि बढिरहेको बताए । 

सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा अगाडि बढ्दा विविध अवरोध खेप्न परेको समेत उनले स्मरण गराए । ‘मैले यो पटक प्रधानमन्त्रीको जिम्मेवारीसँगै मुख्यरुपमा सुशासन, सामाजिक न्याय र समृद्धिलाई लक्ष्य बनाएर केही काम सुरु गर्दै जाँदा विविध जटिलताको सामना गर्नुपर्यो । यसबाट यो यो (भ्रष्टाचार) धेरै गहिरो छ । 

मान्छेहरुले सजिलै भन्ने गरेजस्तो उपदेश दिने गरेजस्तो सजिलो छैन । यसका निम्ति हामीले दीर्घकालीन रणनैतिक सोचको विकास गर्न हाम्रा शिक्षा नीतिमा, हाम्रो सांस्कृतिक नीतिमा र तत्काल कारबाही प्रक्रियालाई प्रभावकारी बनाउन, त्यसको निम्ति आवश्यक ऐन, कानुन र तिनको कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता छ,’– उनले भने ।

clock शनिबार २३, मङि्सर २०८० १२:२१

प्रतिक्रिया