राष्ट्रियसभामा सत्ता गठबन्धनबीच भागवण्डाको खाका तयार

  बिहिबार २१, मङि्सर २०८० ०६:१५

काठमाडौँ । सत्ता गठनबन्धनले राष्ट्रियसभाको निर्वाचनका लागि सिट संख्याको भागवण्डामा आन्तरिक रुपमा सहमति जुटाएको छ। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवार उठाउने तयारी भइरहेको माओवादीका केन्द्रीय सदस्य तथा कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए। 

उनले भने, ‘सत्ता गठबन्धनमा राष्ट्रियसभाको निर्वाचन गठबन्धन गरेर लड्नेमा पक्कापक्कीजस्तै भएको छ। दलका नेताहरू बसेर औपचारिक रूप दिन बाँकी छ।’ राष्ट्रियसभाका २० सिट खाली हुँदै छन्। तीमध्ये एक सिट राष्ट्रपतिबाट मनोनीत हो भने बाँकी १९ सिटका लागि चुनाव हुनेछ। 

चुनाव हुने १९ सिटमा सत्ता गठबन्धनमा सहमति भएको हो। सहमतिअनुसार कांग्रेस ९, माओवादी ६, नेकपा एकीकृत समाजवादी ३ र जनता समाजवादी पार्टीले १ सिट पाउने तय भएको माओवादी स्रोतले बतायो। स्रोतले भन्यो, ‘सिट बाँडफाँटमा पनि मोटामोटी सहमति भएको देखिन्छ। यसलाई अहिले नै औपचारिकता नदिएको हो। निर्वाचन आउन अझै एक महिना बाँकी छ। त्यही भएर दलहरू पनि औपचारिक छलफलमा नबसेका हुन्। तर, सहमति भएको छ।’

राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ। कांग्रेस र माओवादीले आफ्ना पदावधि सकिएका सांसद संख्या र त्यसमा थप सांसदका उम्मेदवार पाउने निश्चित भएको बताइन्छ।

clock बिहिबार २१, मङि्सर २०८० ०६:१५

प्रतिक्रिया