सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री र पर्यटन व्यवसायी बिचमा छलफल

  बुधबार २०, मङि्सर २०८० ०६:३०

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र पर्यटन तथा होटेल व्यवसायी बिचमा छलफल भएको छ। प्रदेश सरकारले आगामी फागुनमा आयोजना गर्न गइरहेको लगानी तथा विकास सम्मेलनका विषयमा मङ्गलवार छलफल भएको हो।

आर्थिक मामिला मन्त्रीको सचिवालयका अनुसार सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन्। सुदूरपश्चिमका पर्यटन व्यवसायी र कैलाली, कञ्चनपुरका होटेल व्यवसायीसँग गरेको छलफलमा उनीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन।

छलफलमा व्यवसायको अवस्था, समस्या थप लगानी गर्ने परियोजना र नयाँ सम्भावनायुक्त परियोजनाका विषयमा छलफल गरिएको थियो। त्यस क्रममा व्यवसायीले लगानी तथा विकास सम्मेलनलाई सहयात्रीको रूपमा सहयोग गर्ने बताएका छन्।

आर्थिक मामिलामन्त्री एवं लगानी तथा विकास सम्मेलन कार्यकारी समितिका अध्यक्ष नरेशकुमार शाहीको अध्यक्षतामा भएको छलफलमा नाटा सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिंह, होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेय, कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्ट लगायतकाले लगानी सम्मेलनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन।

सुदूरपश्चिम प्रदेशको समग्र विकास गर्ने उद्देश्यका साथ प्रदेश सरकारले फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन गर्न गइरहेको छ।

clock बुधबार २०, मङि्सर २०८० ०६:३०

प्रतिक्रिया