एमाले अध्यक्ष केपी ओलीद्वारा दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण आयोजना निरीक्षण

  सोमबार १८, मङि्सर २०८० ०९:५४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण आयोजना निरीक्षण गर्नुभएको छ । 

समृद्धिको लागि संकल्प यात्रा निस्किनुभएका ओली लगायत एमाले नेताहरूको टोलीले दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम अन्वेषण परियोजनाको कार्यालयमा पुगी प्रगति अवस्था बारे जानकारी लिनु भएको थियो । 

सो क्रममा परियोजनाका कर्मचारीहरूले फिल्डमा नै लगेर हालसम्मको अन्वेषण प्रगति बारे जानकारी गराउनुभएको थियो । उहाँहरूले हालसम्म भएको काम र अब गर्नुपर्ने कामको विस्तृत जानकारी एमाले अध्यक्ष ओलीलाई गराउनुभएको थियो । 

दैलेखको भैरवी गाउँपालिका, दुल्लु नगरपालिकाका, डुंगेश्वर गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिकाको क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको छ । 

सोही क्रममा अध्यक्ष ओली लगायतका नेताहरूले भैरवी–१ स्थित श्री आस्था मन्दिरको पनि दर्शन गर्नुभएको छ । सो मन्दिरमा प्राकृतिक रूपमा ज्वाला बल्दै आएको छ । सोही ज्वालालाई आधार मानेर दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको हो । जमिनबाट निस्किएको प्रज्वलनशील ग्याँसको कारण सो ज्वाला बलेको पुष्टि भएको छ ।

clock सोमबार १८, मङि्सर २०८० ०९:५४

प्रतिक्रिया