गणतन्त्रको विरोधहरुकाे पहिचानको राजनीति बेठिक : ओेली

  बिहिबार १४, मङि्सर २०८० १८:२८

बैतडी । नेकपा एमालेले बैतडीको झुलाघाटबाट बिहीबार मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाट पुगेर राष्ट्रिय झन्डा झण्डोतोलन गर्दै झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको उद्घाटन गरेका छन् । एमालेले १८७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्गमा गर्ने संकल्प यात्रालाई समृद्धिको यात्रा समेत भनेको छ ।

झुलाघाटमा महाकाली किनारमा उभिएर यात्राको उद्घाटन गरेका अध्यक्ष ओलीले संकल्प यात्राको अभियानले अहिलेको विकृत राजनीतिलाई सही बाटोमा ल्याउने दाबी गरे । एमालेको अभियानले सरकारको कामकारवाही, अर्थतन्त्र र अहिलेको राजनीतिलाई सही बाटोमा ल्याउने दाबी गरे ।

‘यो यात्रा एक प्रकारको परिस्थितिसम्बन्धी जानकारी, राष्ट्रिय शक्ति निर्माणका लागि जागरण अभियान पनि हो । यसले राष्ट्रिय शक्ति निर्माण गर्ने, देश र जनताको हित, सुशासन प्रवर्द्धन तथा देश विकासको पक्षमा महत्वपूर्ण योगदान पुग्छ भन्ने विश्वास लिएको छु’, ओलीले भने ।

उद्घाटनपछि बैतडी सदरमुकाम गोठालापानीमा आयोजित पहिलो आमसभालाई सम्बोधन गर्दै सरकार, राजावादी शक्ति र पहिचानका नाममा आन्दोलनरत शक्तिविरुद्ध अभियान केन्द्रित गर्ने पनि बताए ।

उनले एमाले सरकारबाहिर रहेपछि मुलुक ओरालो लागेको दाबी गरे । सम्बोधनका क्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका जस्ता काम अहिलेको सरकारले गर्न नसकेको, सरकारकै कमजोरीका कारण राजावादी शक्तिहरु टाउको उठाउन थालेको दाबी गरेका छन् ।

‘अहिलेको दुनियाँ कति अगाडि बढिसक्यो तर हाम्रो देश अझै ओरालो लाग्दैछ । म प्रधानमन्त्रीबाट हटाइएपछि अढाई वर्षमा देशको राजनीति अस्थिरतामा गयो । अर्थतन्त्र ओरालो लाग्यो, राजनीतिक अस्थिरता र अराजकतामा गयो’, ओलीले भने, ‘रोजगारीका अवसर समाप्त भए, उद्योग धन्दा खुल्ने होइन भएका पनि बन्द भए । उद्योगी व्यवसायी हतोत्साहित भएका छन् । सरकारसँग कर्मचारी पाल्न पनि पैसा छैन ।’

ओलीले आफ्नो सरकारको पालामा महाकाली नदीमा ठेकेदारको लापरवाहीका कारण झोलुंगे पुुल बन्न नसक्दा भारतीय सुरक्षाकर्मीको कमजोरीले नेपालीको मृत्यु हुँदा पनि सरकार बोल्न नसकेको जिकिर गरे ।

‘ठेकेदारको कमजोरीले गर्दा त्यो ठाउँमा पुल बन्न सकेन । भारततर्फको सुरक्षाकर्मीले नगर्नुपर्ने काम गर्‍यो एक जना नागरिकले ज्यान गुमायो देश रोयो, करायो तर हामी हटेपछि एउटा गठबन्धन सरकार बनेको त्यो सरकार मुखमा भोटे ताल्चा लगाएर बस्यो चुइक्क बोल्न सकेन’, ओलीले भने ।

देशमा लोकतान्त्रिक प्रणाली भएपनि लोकतान्त्रिक प्रणालीको उचित हिसाबले अभ्यास हुन नसकेको बताएका उनले तस्करी र कमिसनतन्त्रको खेलकै कारण अर्थतन्त्र ओरालो लागेको जिकिरसमेत गरेका छन् ।

देशको बेहाल अवस्थाले जनतामा निराशा, अन्योल पैदा भएको, नागरिक विदेश जानुपर्ने अवस्था सिर्जना भएकाले प्रतिगामी शक्तिले टाउको उठाउन खोजेको ओलीले बताए ।

‘प्रतिगामी शक्तिहरु मौका आउँछ कि भनेर दुलोबाट टाउको निकालेर फेरि सल्बलाउन खोजेका छन्’, उनले भने । तर अब राजतन्त्र फर्किन सम्भव नभएको उनको दाबी छ । ‘हामी पछाडि फर्किन सक्दैनौं, फेरि रैती हुन सक्दैनौं । दास हुन सक्दैनौं, छुवाछुत जस्ता प्रथातर्फ फर्किन सक्दैनौं । फेरि जन्मिदै कोही राजा हुने, कोही दास हुने, धनी र गरिब हुने जन्मिछ भनेर मान्दैनौं ।’

राजतन्त्रवादीहरुले गरिरहेका प्रदर्शन लगायतका कार्यक्रमलाई ओलीले असंवैधानिक भनेका छन् । ‘हामी देखिरहेका छौँ । उहिले राजतन्त्र थियो । त्यो राजतन्त्रको शालिक बनाएर अहिले श्री ५ महाराजधिराज भनेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ । गणतन्त्रको विरोध गर्ने दुत्साहसी काम भइरहेको छ । लोकतन्त्रको विरोध गर्ने दुत्साहसी काम भइरहेको छ’, उनले भने ।

ओलीले पहिचानका नाममा फेरि नेपाली नागरिकलाई विभाजित गर्न खोजिएको पनि बताए । पहिचानको नाममा जनता भाँड्ने, राष्ट्रिय एकता तोड्ने, बैरीहरुलाई मद्दत पुर्‍याउने कुरा भइरहेको भन्दै ओलीले पहिचानको मुद्दा सम्बोधन गर्न संविधानमै समानुपातिक समावेशिताको व्यवस्था गरेको समेत दाबी गरे ।

सरकार, राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शन र पहिचानको नाममा भइरहेको आन्दोलनबारे अभिव्यक्ति दिएका ओलीले पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रामा यही मुद्दामा केन्द्रित हुने संकेत गरे । अभियानमार्फत अहिलेका आम नागरिकलाई अहिलेको अवस्थाको जानकारी दिने र मुलुकमा सकारात्मक परिवर्तन गरी विकास र समृद्धिको यात्रामा लैजाने उनको भनाइ छ ।

‘यसले राष्ट्र, जनता, परिवर्तनको हितमा, लोकतन्त्रको हितमा, लोकतान्त्रिक गणतन्त्रको पक्षमा, सुशासन, विकास र समृद्ध नेपाली, सुखी नेपालीको पक्षमा महत्वपूर्ण योगदान पुगाउने विश्वास लिएको छु,’ उनले भने ।

एमालेले झुलाघाटबाट सुरु गरेको संकल्प यात्रा अगामी पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ । अभियान सकिएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ ।

clock बिहिबार १४, मङि्सर २०८० १८:२८

प्रतिक्रिया