सिङ्गो एमाले बैतडीमा

  बिहिबार १४, मङि्सर २०८० ०६:२८

बैतडी । झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्राका लागि सिङ्गो नेकपा एमाले बैतडी आइपुगेको छ ।

बिहीबार बिहान साढे ८ बजे नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने संकल्प यात्रामा सहभागि हुन एमाले मुख्यालय बैतडी पुगेको हो ।

पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलसहितका सबै पदाधिकारी र केन्द्रीय स्तरका अन्य नेताहरु बुधबार साँझ नै सदरमुकाम गोठलापानी आइपुगेका छन् ।

झुलाघाटबाट सुरु हुने संकल्प यात्रा मध्य पहाडी लोक मार्गमा तीन साता चल्नेछ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् ।

यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गर्ने एमालेले तयारी गरेको नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्ण प्रसाद जैशिले बताए ।

उनले प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्साउने बताए ।

clock बिहिबार १४, मङि्सर २०८० ०६:२८

प्रतिक्रिया