एमाले अध्यक्ष ओली धनगढीमा, भोलि बैतडी जाने

  मङ्गलबार १२, मङि्सर २०८० २१:१०

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छ। उनी मङ्गलवार साँझ धनगढी पुगेका हुन्। नेकपा एमालले बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेबाट सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली आएका हुन। 

एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पनि धनगढी पुगेका छन्। उनीहरु सबै आज धनगढीमा नै बस्ने एमालेका प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले बताए। महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोलि आउने भएका छन्।

नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माका अनुसार उनीहरु भोलि बैतडी जाने छन। मङ्सिर १४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन्। 

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन्। यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी एमालेको छ।

जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गर्ने एमालेले तयारी गरेको छ।

प्रत्येक जिल्लामा सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्साउने बताइएको छ।

 

clock मङ्गलबार १२, मङि्सर २०८० २१:१०

प्रतिक्रिया