भीमदत्तको सालिक तोडफोड १८ जना राप्रपा कार्यकर्ता पक्राउ

  शनिबार ०९, मङि्सर २०८० १०:१६

कञ्चनपुर । राप्रपा कञ्चनपुरले शुक्रबार महेन्द्रनगरमा गरेको प्रदर्शनका सहभागीले किसान नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेका छन् । महेन्द्रनगरस्थित पार्कभित्र रहेको सालिक शुक्रबार तोडफोड गरिएको हो । 

राप्रपा कञ्चनपुरले राजतन्त्र र हिन्दु धर्मका पक्षमा र्‍याली निकालेको थियो । र्‍यालीका सहभागीहरुले भीम वाटिकाको नाम मेटाउनुका साथै पार्कभित्र रहेको सालिकमा तोडफोड गरेका हुन् ।

तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले २ महिलासहित १८ जना राप्रपाका नेता, कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । भीडलाई तितरवितर पार्न प्रहरीले २ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

‘तोडफोडमा संलग्न रहेकाहरुलाई भिडियोका आधारमा नियन्त्रणमा लिइएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले भने, ‘कारबाही गर्ने विषयमा छलफल भइरहेको छ ।’

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले सालिक तोड्ने कुनै योजना नरहेको र अनियन्त्रित भीडले एकाएक तोडफोड गरेको बताए । उनले पार्क नजिकै कोणसभा गरेर र्‍याली समापन गर्ने योजना भए पनि भीडले सालिक तोडेको बताए ।

clock शनिबार ०९, मङि्सर २०८० १०:१६

प्रतिक्रिया