विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी मन्त्रीलाई परराष्ट्र मन्त्री साउदको आग्रह

  शुक्रबार ०८, मङि्सर २०८० १५:२७

काठमाडौं। परराष्ट्र मन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ।

विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिएका छन्।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए। भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा पनि गरेको उनको सचिवालयले उदृत गरेको छ।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए। भेटका क्रममा उनीहरुबीच रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमण लगायत साझा हितका विषयमा छलफल भएको थियो।

clock शुक्रबार ०८, मङि्सर २०८० १५:२७

प्रतिक्रिया