आज युवा संघ र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन

  बिहिबार ०७, मङि्सर २०८० ०६:३३

काठमाडौँ । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको अभियानले बिहीबार काठमाडौंमा शक्ति प्रर्दशन गर्दै छन् । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकिएपछि युवा संघले तीनकुनेमा र प्रसाईंको अभियानले बल्खुमा प्रदर्शन गर्ने तयारी गरेका छन् । 

राष्ट्रिय युवा संघले तीनकुने क्षेत्रमा विरोध र्‍याली र प्रदर्शन गर्ने तयारी गरेको छ । संघले अनेरास्ववियुसहित एमालेसम्बद्ध जनवर्गीय संगठनहरूको सहयोगमा भ्रष्टाचार, महँगी र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको हो । 

प्रदर्शनको प्रचारका सिलसिलामा युवा संघ र अनेरास्ववियुले बुधबार काठमाडौं, भक्तपुर र ललितपुरको एक दर्जनभन्दा बढी स्थानमा साँझ मसाल जुलुस प्रदर्शन गर्दै सहभागिताका लागि अपिल गरेका थिए । विरोध प्रदर्शन सुरु हुनुअघि संघको अगुवाइमा बालकुमारी क्षेत्र, जडीबुटी क्षेत्र, बानेश्वर क्षेत्र र एयरपोर्ट क्षेत्रबाट छुट्टाछुट्टै र्‍याली निकाली केहीबेर तीनकुने–कोटेश्वर क्षेत्रमा प्रदर्शन हुने संघका प्रवक्ता निरोज पौडेलले बताए । त्यसलगत्तै तीनकुनेस्थित चौरमा विरोधसभा आयोजना गरिने पनि उनले जानकारी दिए । 

सभालाई एक एमाले शीर्ष नेतासहित स्थायी समिति सदस्य भानुभक्त ढकाल, संघका पूर्वअध्यक्ष महेश बस्नेत, अहिलेका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका पूर्वअध्यक्ष किशोरबिक्रम मल्ल र अहिलेका अध्यक्ष समिक बडाल तथा एकजना महिला प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । 

विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा–विद्यार्थीले कम्तीमा ३ हजार स्वयंसेवक परिचालन गर्दै छन् । दुवै संगठनले काठमाडौं उपत्यकासहित बागमती क्षेत्रबाटसमेत पार्टीसम्बद्ध कमिटीका नेता–कार्यकर्तालाई पनि परिचालन गरेका छन् । 

प्रसाईंको संयोजकत्वमा ‘नेपालीहरूको मुक्तिको दिन’ नारासहित आज काठमाडौंकेन्द्रित प्रदर्शन हुन लागेको हो । ‘राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिइएको प्रदर्शनमा सहभागी हुन देशभरबाट नागरिकको सहभागिता हुने दाबी गरिएको छ । 

प्रसाईंले हिन्दुराज्य कायम गर्नुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज अन्त्य हुनुपर्नेलगायतका मुद्दासहित अभियान सुरु गरेको बताएका छन् । ‘अहिलेको व्यवस्था परिवर्तन नभइन्जेलसम्म यो प्रदर्शन जारी रहन्छ,’ नयाँ पत्रिकासँग प्रसाईंले भने, ‘बिहीबार काठमाडौंमा उद्घाटन मात्रै हो । यहाँबाट घन्टी मात्रै बजाउने हो, त्यसपछि देशैभर यो प्रदर्शन जारी रहन्छ । सरकारको रबैया हेरेर थप कदम चालिनेछ । ’ 

प्रदर्शनका लागि देशभरबाट कम्तीमा पाँच लाख नागरिकको उपस्थिति हुने अनुमान गरिएको प्रसाईंले दाबी गरे । विभिन्न स्थानबाट समूह बनाएर बल्खु आइपुग्ने कार्यक्रम रहेको र देशका स्वतन्त्र व्यक्तिले सम्बोधन गर्ने प्रसाईंले दाबी गरे । अभियानका लागि राष्ट्रप्रेमी राजनीतिक दल, धार्मिक संघसंस्था, विभिन्न गुरुकुल, आश्रमहरू, विभिन्न धर्मका धर्म गुरूहरू, कर्मचारी संघ संगठनहरू, पूर्वसुरक्षाकर्मी संघसंगठनहरू, पेसागत संघसंगठनहरूलगायत ४६ वटा संघ संस्थाले समर्थन र ऐक्यबद्धता जनाएको प्रसाईंले दाबी गरे । 

अभियानका लागि प्रसाईंले काठमाडौंस्थित पेरिसडाँडामा कार्यालय नै स्थापना गरेका छन् । अभियान सफल पार्न सातसदस्यीय अध्यक्षमण्डल नै गठन गरिएको छ, जसमा दुर्गा प्रसाईं, हरि कार्की, राजु पनेरू, आनन्द प्याकुरेल, ईशा खड्का, रमा सिंह र प्रेमदीप लिम्बू छन् । कार्यक्रम गर्न सुरक्षा व्यवस्थादेखि खाद्यान्नलगायत २१ वटा समिति बनाइएको छ । काठमाडौंमा आउने मानिसलाई दुई दर्जन बढी पार्टी प्यालेसमा बस्ने–खाने व्यवस्था मिलाइएको छ ।

clock बिहिबार ०७, मङि्सर २०८० ०६:३३

प्रतिक्रिया