बैतडीका दुई क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

चार क्याम्पसमा भने मतदान जारी

  आइतबार ०५, चैत २०७९ ११:५५     विश्वास खबर

बैतडी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त बैतडीका दुई वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । गाँजरीमा रहेको सिगास शिक्षा क्याम्पस र शाहीलेकमा रहेको बैतडी शिक्षा क्याम्पसमा स्ववियुको निर्वाचन स्थगित भएको हो ।

यी दुई क्याम्पसमा मनोनयन दर्ता भएको भएपनि विद्यार्थी संगठनबीचको विवादले स्ववियुको निर्वाचन स्थगित भएको हो । विवाद रहेका यी दुई क्याम्पसमा कहिले निर्वाचन हुने भन्ने पनि अनिश्चित भएको छ।

सिगास शिक्षा क्याम्पसमा मनोनयनको दिन नेविसंघको मात्रै मनोनयन परेको भन्दै अनेरास्ववियुले क्याम्पसलाई पत्र पठाएको थियो । मनोनयन अगाडि नेविसंघ र अनेरास्ववियुबीच सहमति भएको थियो । तर पछि आएर कुरा नमिल्दा निर्वाचन स्थगित भएको सिगास शिक्षा क्याम्पसका प्रमुख राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

क्याम्पसमा रहेका नेविसंघले ६ र अनेरास्ववियुले ५ पद लिने गरी सहमति भएको भएपनि अनेरास्ववियुले माथिको आदेश भन्दै सहमति नगरेको धामीको भनाइ छ । यता सदरमुकामस्थित बैतडी शिक्षा क्याम्पसमा निर्वाचन समितिले निर्देशिका विपरित काम गरेको भन्दै नेविसंघले तालाबन्दी गरेको छ । यसअघि गत शनिबार निर्वाचनका विषयमा अनेरास्ववियु र नेविसंघका प्रतिनिधिहरु बसेर छलफल भएपनि सहमति नजुट्दा निर्वाचन हुन नसकेको हो ।

यहाँका अन्य ४ वटा क्याम्पसमा भने आइतबार बिहान ८ बजेबाट स्ववियु निर्वाचनको लागि मतदान जारी रहेको छ । श्रीकोट बहुमुखी क्याम्पस, पुर्चौंडी बहुमुखी क्याम्पस, नवप्रभात संयुक्त क्याम्पस र सेटीगाउँ बहुमुखी क्याम्पसमा मतदान भइरहेको हो । मतदानको समय अपराह्न ४ बजेसम्म रहेको छ ।

श्रीकोटमा २ सय १० , पुर्चौडीमा ४ सय ९७, नभप्रभातमा १ सय ९९, सेटिगाउँमा ३ सय २ जना विद्यार्थी मतदाता रहेका छन् । मतदान पश्चात आइतबार नै मतगणना भएर अन्तिम मतपरिणाम पनि आजै आउने जनाइएको छ ।

clock आइतबार ०५, चैत २०७९ ११:५५     विश्वास खबर

प्रतिक्रिया