विश्व कप फुटबल छनोटमा नेपालले आज यमनसँग खेल्दै

  मङ्गलबार ०५, मङि्सर २०८० ०६:४५

काठमाण्डौ । फिफा विश्व कप फुटबल २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दैछ । समूह 'एच" मा रहेका नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ७ बजे शुरु हुनेछ । नेपालले घरेलु मैदानमा आज दोस्रो चरणको दोस्रो खेल खेल्न लागेको हो ।

फिफा वरीयतामा यमन १ सय ५६ औँ र नेपाल १ सय ७३ औँ स्थानमा छ । यसअघि गएको बिहीवार दुबईमा भएको पहिलो खेलमा समूहकै सबैभन्दा बलियो टोली यूएईसँग नेपाल ४–० गोलले पराजित भएको थियो।

यमन पनि पहिलो खेलमा घरेलु मैदानमा बहराइनसँग २–० गोलले पराजित भएको थियो । खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमनसँगको खेलका लागि टोली तयार रहेको र जितकै लागि खेल्ने बताएका छन् ।

कप्तान किरणकुमार लिम्बुले यूएईसँगको हारलाई बिर्सेर अघि बढ्नुपर्ने र त्यसैअनुसार यमनसँग खेलका लागि उत्साहित रहेको बताए । उनले घरेलु मैदानमा समर्थकको उत्तिकै साथ रहने पनि बताए । नेपाल र यमनबीच आज हुने खेलका लागि साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

नेपाल र यमनले अहिलेसम्म चार खेल खेलेका छन् । तर नेपालले यमनलाई हराउन सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उपलब्धि हो ।

एसियन कप छनोट अन्तर्गत नै २०१८ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २–१ गोलले पराजित भएको थियो । त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३–० गोलले र सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको समूह एचमा नेपालसहित यूएई, बहराइन र यमन रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली एसिया कपका साथै विश्व कप छनोटको अर्को चरणमा पनि पुग्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोली एसिया कपमा पुग्न फेरि खेल्नुपर्नेछ ।

clock मङ्गलबार ०५, मङि्सर २०८० ०६:४५

प्रतिक्रिया