रेशम चौधरीलाई कैद माफी दिने सरकारको निर्णयविरुद्धको रिटमा बहस हुँदै

  शुक्रबार ०१, मङि्सर २०८० १३:३५

काठमाण्डौँ । टीकापुर घटनामा मुछिएका रेशम चौधरीलाई कैद माफी दिने सरकारको निर्णयविरुद्धको रिटमा आज बहस  हुँदैछ ।सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा चौधरीविरुद्धको रिटमा बहस हुन लागेको हो ।

तिहारअघि न्यायाधीश प्रकाशनमानसिंह राउतको इजलासमा परेको थियो । राउतको इजलासमा २३ र २४ कात्तिकमा लगातार उक्त रिट परेको भए पनि हेर्न नभ्याइने भन्दै तिहारपछिलाई सरेको थियो ।

तिहारको बिदा सकिएलगत्तै पहिलो दिन नै चौधरीविरुद्धको रिटमा सुनुवाइ हुन लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

उक्त निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका परिवारका आफन्तले कैलाली जिल्ला कारागार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्था विभागसहितलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

टीकापुरमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले १६ जेठमा रिट दायर गरेकी थिइन् । गणतन्त्र दिवसको उपलक्ष्यमा १५ जेठमा चौधरीलाई कैद माफी दिइएको थियो । उक्त रिटमा न्यायाधीश राउतको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

संविधान दिवसको उपलक्ष्यमा गत ३ असोजमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालगन्जका चेतन मानन्धरको हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चले उल्ट्याएको छ । सोही कारण चौधरीको रिटलाई पनि निकै चासोका साथ हेरिएको छ ।

clock शुक्रबार ०१, मङि्सर २०८० १३:३५

प्रतिक्रिया