भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

  शनिबार १८, कार्तिक २०८० १०:१३

रुकुम । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो।

ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए ।

घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।

तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।

भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।

clock शनिबार १८, कार्तिक २०८० १०:१३

प्रतिक्रिया