एमालेले थाल्यो मध्यपहाडी राजमार्गकेन्द्रित जनसंवाद अभियानको तयारी

  शुक्रबार १७, कार्तिक २०८० ०९:२०

काठमाडौँ । एमालेले तिहारलगत्तै सञ्चालन हुने मध्यपहाडी राजमार्गकेन्द्रित बृहत् पदयात्रा तथा जनसंवाद अभियान सञ्चालनको तयारी सुरु गरेको छ । शक्ति प्रदर्शन र संगठन विस्तारका लागि सञ्चालन गर्ने गरी सुरु गर्न लागेको अभियानको तयारीका लागि बिहीबार दुई उपमहासचिवको टोली स्थलगत रूपमा खटिएका छन् ।

उपमहासचिव प्रदीप ज्ञवाली पूर्वतर्फ र अर्का उपमहासचिव विष्णु रिमालको टोलीलाई पश्चिमतर्फ खटाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।

सिराहाको सर्रे अम्बासमा १४ भदौमा बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वको पाँचथर चिवा भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । मंसिर दोस्रो साताबाट दुई साता अभियान सञ्चालन हुनेछ । 

ज्ञवालीको टोली विराटनगर हुँदै पाँचथरसम्म पुगेर स्थलगत रूपमा अध्ययन गर्नेछ । त्यस्तै, जनप्रदर्शन गर्ने स्थल, कोणसभास्थललगायत विषय जिल्ला र स्थानीय पार्टीसँग समन्वय र परामर्श गरेर तय गर्नेछ । पूर्वतर्फ खटिएको टोलीमा उपहासचिव ज्ञवालीसहित केन्द्रीय सदस्य किरण पौडेल र भूतपूर्व सैनिक प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डे छन् । 

पश्चिम बैतडी झुलाघाटतर्फ उपमहासचिव रिमालसहित पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ, केन्द्रीय सदस्य विष्णु रिजाल र आर्थिक विभागका सदस्य लोकबहादुर भण्डारी छन् । यो टोलीले बैतडीबाट तयारीको काम सुरु गर्ने एमालेले जनाएको छ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्यपहाडी राजमार्गको लम्बाइ एक हजार आठ सय ७९ किलोमिटर छ । एमालेको यात्रा करिब दुई सातामा समापन गर्ने तयारी छ । 

एमालेले आगामी ९ र १० मंसिरमा पार्टी केन्द्रीय कमिटीको बैठक धनगढीमा आयोजना गर्ने र ११ मंसिरदेखि झुलाघाटबाट मध्यपहाडी यात्रा सुरु गर्ने गरी आन्तरिक तयारी सुरु गरेको हो ।

clock शुक्रबार १७, कार्तिक २०८० ०९:२०

प्रतिक्रिया