धनगढीमा विपन्नको अन्तिम संस्कारमा दाउरा सँगै प्रहरीको सलामी

  शुक्रबार १७, कार्तिक २०८० ०६:३१

धनगढी । विश्वका अधिकांश देशहरुमा उच्च पदस्थ नेता तथा कर्मचारीहरुको मृत्यु हुँदा उनीहरूको अन्तिम संस्कारमा प्रहरीबाट सलामी दिने प्रचलन रही आएको छ । विश्व सँगै नेपालमापनि यो प्रचलन कायम छ । एक भिआइपीको मृत्यु हुँदा प्रहरीको सलामीसहित राजकीय अन्यस्टी दिइने प्रचलन कायम हुँदा सामान्य नागरिकको मृत्युमा राज्य बेखबर हुन्छ । तर धनगढी उपमहानगरपालिकाले विपन्न नागरिकको मृत्यु हुँदा दाउराका लागी ५ हजार रकम सहयोग गर्नुका साथै उपमहानगरको झन्डा ओढाएर प्रहरीको सलामी दिने निर्णय गरेको छ । विपन्न नागरिकको समेत सरकारी झन्डा र प्रहरीको सलामी सहितको अन्तिम संस्कार हुन थालेपछि धनगढीका नागरिकले साँच्चिकै गणतन्त्र आएको अनुभूति गर्न थालेका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण अन्तिम संस्कार गर्न समेत नसक्ने स्थितिका नागरिकहरुको पिडामा मलम लगाउने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमै विपन्न नागरिकको अन्तिम संस्कारका लागी निःशुल्क शव वाहन र ५ हजारसम्मको दाउरा खर्च बेहोर्ने उल्लेख गरेको थियो । बजेटमा समावेश गरिए अनुसार उपमहानगरले विपन्न नागरिकको मृत्यु पश्चात् अन्तिम संस्कारमा आवश्यक पर्ने दाउराका लागी ५ हजार रुपियाँ सहयोग गर्न सुरु गरेको छ ।

उपमहानगरिय प्रहरी प्रमुख भुपेन्द्र खड्काले आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई घरमा कसैको मृत्यु भए शव वाहनका लागी टोल फ्री नम्बरमा फोन गरेर खबर गर्न आग्रह गर्नुभयो । सोही अनुसार उपमहानगरले विपन्न नागरिकको दाह संस्कारका लागी आवश्यक पर्ने दाउराका लागी घरमै गएर ५ हजार रकम सहयोग गर्नुका साथै उपमहानगरको झन्डा सहित सलामी समेत दिन सुरु गरेको खड्काले बताउनुभयो । साथै २ जना उपमहानगरिय प्रहरीले शवमाथि उपमहानगरको झन्डा ओढाउँदै अन्तिम सलामी समेत दिने गरेको खड्काले बताउनुभयो ।

विपन्न परिवारलाई आफन्तजनको असामयिक निधन हुँदा दाहसंस्कार गर्न दाउरा किन्ने पैसा समेत नहुने भएकाले ससम्मान अन्तेष्टी गर्न धनगढी उपमहानगरले ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । आर्थिक अवस्था कमजोर भएका नागरिकको घरमा कुनै सदस्यको निधन भए दाउरा अभाव भएकै कारण टायरमा अन्तेष्टी गर्नुपर्ने बाध्यताको अन्त्य गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरका प्रमुख गोपाल हमालले बताउनुभयो ।

यति मात्रै नभएर घाटसम्म शव पुर्‍याउनकै लागी उपमहानगरले निःशुल्क शव वाहनको समेत व्यवस्था गरेको छ । दाउराका लागी आर्थिक सहयोग गर्न घरमै पुग्ने उपमहानगरिय प्रहरीले शवमाथि उपमहानगरको झन्डा ओढाएर सलामी पनि दिने गरेको छ । कयौँलाई दाउरा किन्ने पैसो समेत नभएर दाहसंस्कार गर्न समस्या हुने भएका कारण सबै नगरवासीको अन्त्यष्टी स सम्मान होस भनेर आर्थिक सहयोग सँगै सलामी दिने निर्णय गरिएको मेयर हमाल बताउनुहुन्छ । हमालले उपमहानगरको टोल फ्री नम्बरमा फोन गरेर जानकारी गराएमा विपन्न नागरिकले उपमहानगरपालिकाबाट निःशुल्क शव वाहन, अन्त्येष्टिका लागि रकम सँगै अन्तिम सलामी समेत पाउने जानकारी दिनुभयो ।

जिउँदो हुँदा आर्थिक अभावमै गुज्रिएका नगर बासीले अन्तिम महाप्रस्थानमा समेत अभावमै जानुपर्ने स्थितिको अन्त्य गर्न उपमहानगरले यी रचनात्मक कार्य गर्दै आएको छ । उपमहानगरको यो कदमबाट उपमहानगरबासी निकै लाभान्वित बनेका छन् । अब उपमहानगरबासीले आर्थिक अभावकै कारण टायरमा अन्तिम श्रद्धाञ्जली दिनुपर्ने बाध्यता टरेको छ । उपमहानगरको यो कदमले नगर बासी खुसी छन् । उनीहरूले साँच्चिकै सरकार भएको अनुभूति गरेका छन् । धनगढी ८ का गणेश चौधरीले उपमहानगरको यो कदमले साँच्चिकै स्थानीय सरकार अभिभावक रहेछ भन्ने अनुभूति भएको बताउनुभयो । अँझैपनि आर्थिक अवस्था निकै नाजुक भएका नागरिक धनगढीमा छन् उहाँले भन्नुभयो “ती नागरिकहरूलाई यसरी दाउरासम्मपनि सहयोग हुँदैछ, आफ्नो सरकारको झन्डासहित अन्तिम श्रद्धाञ्जली पाउनु निकै ठुलो कुरा हो, उपमहानगरलाई धेरै धन्यवाद भन्छु ।”

धनगढी ५ का हर्क बहादूर भाटले उपमहानगरपालिकालाई धेरै धन्यवाद दिनुभयो । म त धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेयर साप, उपमेयर साप लगायत सबै जनालाई उहाँले भन्नुभयो “देशभरिमै कतै नभएको यस्तो नियम धनगढीमा ल्याउनुभएको छ, विपन्नले अन्तिम संस्कारका बेला पर्याप्त दाउरा पायो, अझ उपमहानगरको झन्डा पायो यति मात्रै नभएर भिआइपी जस्तै प्रहरीको सलामी पनि पाउँछ यो भन्दा ठुलो कुरा के हुन्छ र, यो जति प्रशंसा गरे पनि कम हुन्छ ।”

धनगढी उपमहानगरपालिकाले प्रत्यक्ष जनतासंग सरोकार राख्ने विषयहरूलाई प्राथमिकता राखेको छ । अन्तिम श्रद्धाञ्जलीका लागी आर्थिक सहयोग सँगै शव वाहनको व्यवस्था गरेको उपमहानगरले गर्भवती महिलाहरूलाई लक्षित गर्दै आमा बचाउ अभियान समेत सञ्चालन गरेको छ । उपमहानगरले सो अभियान अन्तर्गत गर्भवती महिलाहरूलाई अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको हो ।

clock शुक्रबार १७, कार्तिक २०८० ०६:३१

प्रतिक्रिया