राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्‌लाई सम्बोधन गर्ने

  मङ्गलबार १४, कार्तिक २०८० ०६:३८

काठमाडौं  । संघीय संसद्को संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज (मंगलबार) सम्बोधन गर्दैछन् । चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेसले अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । 

बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयले गुटेरेसको सम्बोधनमा उपस्थितिका लागि विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरेको जनाएको छ ।  

सम्बोधनलगत्तै बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ । सम्बोधनको जानकारी आइतबार नै प्रतिनिधि सभा बैठकमा दिइएको थियो ।

गुटेरेसको सम्बोधन हुनुभन्दा १५ मिनेट अगाडि सांसदहरूलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका थिए । साथै उनले औपचारिक पोसाकमा आउनसमेत आग्रह गरेका थिए । 

मुलुकमा गणतन्त्र स्थापनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई सम्बोधन गरेका थिए । त्यसपछि संसद्लाई सम्बोधन गर्ने नेपालबाहिरका विशिष्ट व्यक्ति गुटेरेस हुने भएका छन् ।

clock मङ्गलबार १४, कार्तिक २०८० ०६:३८

प्रतिक्रिया