लगातार दोस्रो जितको खोजीमा मलेसियाविरुद्ध मैदान उत्रिदै नेपाल

  मङ्गलबार १४, कार्तिक २०८० ०६:३४

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा आज (मंगलबार) मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह ‘ए’को यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

प्रतियोगिताको दोस्रो दिन पनि कुल चार खेल हुनेछन् । कीर्तिपुरमा हुने पहिलो खेलमा सिंगापुर र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ । मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स ९यूएई० भिड्नेछन् ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले आजको खेल बाहेक अब  कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स ९यूएई०, बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा विश्वकपमा छनोट हुनेछन् ।

clock मङ्गलबार १४, कार्तिक २०८० ०६:३४

प्रतिक्रिया