राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट एमाले, कांग्रेस र नेकपाका उम्मेदवारले दर्ता गरे उम्मेदवारी

  बुधबार २३, पुष २०८२ १९:४०

धनगढी। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन कार्यक्रमअनुसार आज धनगढीस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो। 

केन्द्रमा भएको सहमतिअनुसार नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक सिटका लागि उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट खम्ब खातीले उम्मेदवारी दर्ता गरेका छन् भने नेकपा एमालेको तर्फबाट लिला भण्डारी उम्मेदवार बनेका छन्। 

कांग्रेस–एमालेबीच भएको राजनीतिक समझदारीअनुसार दुवै दलले छुट्टाछुट्टै सिटमा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गरेका हुन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने राष्ट्रियसभा निर्वाचनका लागि एकल रूपमा उम्मेदवारी दिएको छ। सो पार्टीको तर्फबाट महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टिकाराम जैशीले उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। अब उम्मेदवारी जाँच, नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढ्ने छ। राष्ट्रियसभा सदस्य निर्वाचनलाई सुदूरपश्चिम प्रदेशको राजनीतिक प्रतिनिधित्वका हिसाबले महत्वपूर्ण मानिएको छ।

clock बुधबार २३, पुष २०८२ १९:४०

प्रतिक्रिया