राष्ट्रपति पौडेलबाट विजयादशमीको शुभकामना, सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ अन्तर्गत विजयादशमीको अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले सत्यको विजय र आसुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि भएकाले यस पर्वले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सबैलाई प्रेरित गर्ने छ भन्ने विश्वास व्यक्त गरेका छन् ।
यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भन्ने पनि उनले कामना गरेका छन् ।
‘हाम्रो मुलुकमा परम्परागतरूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेका छन्’, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘बडादसैँ पर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्छ भन्ने मलाई लाग्छ ।’
उनले नयाँ उत्साह, उमङ्ग, असल कामलाई हौसला प्रदान गर्न र सकारात्मक ऊर्जा थप्ने प्रेरणा देओस् भन्ने कामना पनि गरेका छन् ।
यसैबीच, राष्ट्रपति पौडेलले विजया दशमीका दिन आज विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ ।
राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ ।
अन्य सर्वसाधारणका लागि अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने व्यक्तिले मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ । रासस
प्रतिक्रिया