यौन तथा प्रजनन शिक्षा पाठ्यपुस्तकमा समावेश गर्नुपर्नेमा जोड

  शनिबार ०४, कार्तिक २०८० ०६:४०

धनगढी । यौन तथा प्रजनन शिक्षालाई आधारभूत तहदेखी नै पाठ्यपुस्तकमा समावेश गर्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् ।

यार्ड नेपालले शुक्रवार धनगढीमा आयोजना एक कार्यक्रममा बोल्दै संस्थाका कार्यक्रम निर्देशक महेन्द्र शाहीले यौन तथा प्रजनन शिक्षाका बारेमा जानकारी नहुँदा पनि प्रजनन स्वास्थ्यको अवस्था चिन्ता जनक रहेको बताएका छन् । उनले यौन तथा प्रजनन शिक्षाका बारेमा आधारभूत तह देखी नै बालबालिकाहरूलाई जानकारी गराउनु पर्ने बताए ।

पछिल्लो समय बाल विवाह पनि बढ्दै गएको हुँदा आधारभूत तहदेखी नै किशोर किशोरीलाई भविष्यमा स्वास्थ्यमा पर्न सक्ने असरबारे सचेत गराउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष स्माइल चौधरीले स्वास्थ्य सचेतना फैलाउनमा सञ्चार माध्यम र सञ्चारकर्मीको पनि ठुलो भूमिका रहने बताएका छन् । उनले स्वास्थ्य क्षेत्रका नीतिगत सुधारका लागि पनि सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले सञ्चारका माध्यमबाट यौन तथा प्रजननका विषय उठिरहेको बताएका छन् । उनले अझैँ यसको बारेमा बृहत् रूपमा सबै तिर आउन नसकेको बताउँदै सञ्चार माध्यमबाट आउनुपर्ने बताए ।

समाचारका माध्यमबाट पनि यसको बारेमा जानकारी गराउन सकिने हुँदा विभिन्न समयमा पत्रकारलाई तालिमको पनि आवश्यकता रहेको उनको भनाई छ ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशीले यौन तथा प्रजननका बारेमा थाहा पाएकाहरु पनि यसको बारेमा चासो नदेखाउँदा समस्या आउने बताउँछन् । उनले पछिल्लो समय यौन तथा प्रजननमा विभिन्न समस्याहरू देखा परेको बताउँदै यसमा सबैले जिम्मेवार भएर आ आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीकी आशा थापा र परिवार नियोजन संघका प्रतिनिधि चेतराज फुलाराले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

clock शनिबार ०४, कार्तिक २०८० ०६:४०

प्रतिक्रिया