आज विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की

  बुधबार ०१, कार्तिक २०८० ०६:४१

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। 

प्रदेश सरकार गठनको अन्तिम विकल्प, संविधानको धारा १६८ को उपधारा ९५० अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए। 

नेपाली कांग्रेसबाट विद्रोह गरेर कांग्रेसका ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। अहिले सत्तारुढ गठबन्धनले कार्कीलाई समर्थन जनाएको छ। 

पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘चाहना विपरीत’ मुख्यमन्त्री कार्कीले एमालेलाई सरकारमा सहभागी गराइसकेका छन्। एमालेबाट संसदीय दलका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेर आफूलाई समर्थन गर्ने शमशेर राईलाई कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेका छन्। 

कार्कीलाई सत्तारुढ गठबन्धनका कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि विश्वासको मत दिने देखिएको छ। एमाले विश्वासको मत दिने पक्का नै छ। राप्रपाले भने विश्वासको मत दिने वा नदिने विषयमा कुनै निर्णय गरेको छैन। यद्यपि कार्कीको नेतृत्वमा सरकार गठन हुँदा राप्रपाले तटस्थ बस्ने निर्णय लिएको थियो। 

clock बुधबार ०१, कार्तिक २०८० ०६:४१

प्रतिक्रिया