केपी ओली एमाले हैनन् – प्रचण्ड

  सोमबार २९, असोज २०८० १७:३२

धनगढी । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रियल एमाले नभएको टिप्पणी गरेका छन् ।

समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभामा उनले यस्तो बताएका हुन् ।

‘अहिले एमालेको नेतृत्व जसले गरेको छ उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डको आरोप छ । युद्धकालीन अवस्था स्मरण गर्दै उनले अहिलेको नेतृत्व तत्कालीन अवस्थामा भएको भए अहिलेको परिवर्तन सम्भव हुन नसक्ने प्रचण्डले बताए । अहिले पनि जनताको उपलब्धि गुम्ने खतरामा रहेकोमा प्रचण्डको बुझाइ छ ।

‘परिवर्तन उल्टाउन चाहने शक्तिलाई परास्त गर्छौं । त्यसको लागि हामी एक ठाउँमा आउनु पर्छ’, उनले भने, ‘संविधान मिचेर संसद् विघटन गर्ने र प्रतिगमनतर्फ लैजाने डरलाग्दो प्रयास भएकै थियो । हामीले नै त्यो षड्यन्त्रलाई परास्त गरेका थियौं अदालतले पनि जनताको कुरा सुनेर संसद् पुनर्स्थापना गर्‍यो । अहिले पनि त्यो कोसिस भइरहेको छ ।’

सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको प्रधानमन्त्री दाहालको जिकिर छ । उनले ललित निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा दोषी कारवाहीको भागीदार भएको बताए ।

‘अरू पनि केही फायलहरू छिट्टै खुल्दै छन्’, प्रचण्डले भने ।

clock सोमबार २९, असोज २०८० १७:३२

प्रतिक्रिया